निगममा ‘मास्टर कि’ चोरी प्रकरण

163

फागुन १३,
काठमाडौं । हवाई इन्धन ढुवानी गर्ने १ सय ८१ सहित करिब चार सय ट्यांकरको ताल्चा खुल्ने मुख्य साँचो (मास्टर कि) हराएको छ । यो प्रकरणमा सिनामंगल डिपो प्रमुख महेशमान श्रेष्ठमा अनुसन्धान केन्द्रित भइरहेको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल निगमले प्रदान गर्ने उक्त साँचो माघ १९ गते नै हराएको थियो । तर, नेपाल आयल निगमले घटना गुपचुप राखेको थियो । सिनामंगल डिपो प्रमुख श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको दराजमा राखिएको दुईमध्ये एउटा मास्टर कि हराएको थियो ।

हराएको उक्त साँचोले भारतीय आयल कर्पोरेसन (आईओसी) को रक्सौल डिपो, हवाई इन्धन ढुवानी गर्ने एक सय ८१ ट्यांकर र थानकोट डिपोका दुई सय ट्यांकरको ताल्चा पनि खोल्न मिल्छ । साँचो हराएको विषय छानविनको क्रममा रहेको निगमका निर्देशक एवं प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । ‘माघ १९ मा मास्टर कि हराएकोबारे जानकारी आयो, २३ मा हामीले छानविन कमिटी बनाएर जिम्मेवार व्यक्तिसँग बयान लिइरहेका छौं,’ गोइतले भने ।

मास्टर कि हराउनु आफैंमा गलत भए पनि यसैका कारण तेल चोरी भने नहुने गोइतले दाबी गरे । ‘हामीले सबै ट्यांकरमा साँचो हराएको दिनकै भोलिपल्टबाट (२० गते) देखि सिल प्रणाली अपनाएका छौं,’ गोइतले भने, ‘ताल्चा त लागेकै छ अब सिल पनि हुन्छ, तेल चोरी हुन्न ।’साँचो हराएको विषय छानविन गर्न नायव प्रवन्ध निर्देशक विशाल ओझाको संयोजकत्वमा बनेको समितिले काम गरिरहेको निगमले जनाएको छ । सुक्ष्म अध्ययन भइरहेकाले सबै कुरा भन्न नमिल्ने प्रवक्ता गोइतले बताए । सिनामंगल डिपो प्रमुख श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको दराजमा उक्त मास्टर कि राख्ने गरिएको थियो । त्यहाँ रहने दुईमध्ये एउटा मास्टर कि हराएको हो ।

प्रत्येक ट्यांकरको ताला खोल्न अलग–अलग साँचो हुने भए पनि हराएको भनिएको मास्टर किले भने सबै ट्यांकरको ताला खुल्ने निगमले जनाएको छ । साँचो हराएको ठाउँ कै अधिकारीलाई अनुसन्धान दायरामा राखेर छानविन भइरहेको निगमले जनाएको छ । २०७४ चैत १ गतेदेखि तेल चोरी गर्न नमिल्ने लकिङ प्रणाली निगमले थालेको थियो । यसलाई चालकहरूले अहिले पनि विरोध गरेका छन् । -अनलाईन खबरबाट