प्रधानमन्त्री ६९औं जन्मदिन मनाउन जन्मघर तेह्रथुम जाँदै

283

फागुन ७,
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मघर पुगेर मनाउने भएका छन् । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–२ इवापोखरीको पुर्ख्यौली घरपुगेर उनले जन्मदिन मनाउने भएका हुन् । प्रधानमन्त्री ओलीको ६९औं जन्मदिन ११ फागुनमा पर्छ । सो दिन पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्य, भाइ र बहिनीहरुसहित जन्मघर इवा जाने पारिवारिक स्रोतले जनायो ।

११ फागुन, २००८ मा जन्मिएका ओली १२ वर्षको उमेरमा पिता मोहनप्रसादसँगै झापाको शरणमतीस्थित चप्रमारीमा बसाइँ सरेका थिए । त्यसको केही समयपछि गरामनीहुँदै पछि पृथ्वीनगरको सोमबारे ९हाल भद्रपुर नगरपालिका–२० बसाइँ सरेका थिए । ओलीका पिता मोहनप्रसाद ओलीले २०२० तिरै सो पुर्ख्यौली घर छोडे पनि २०४८ सालपछि बेचेका थिए । आफ्नो जन्मघर बेचेका ओलीले केही वर्षअघि मात्र स्थानीय खगेन्द्र तामाङबाट पुनः किनेका थिए । २ वर्षअगाडि प्रधानमन्त्री ओलीले आफू जन्मेको घरसहित २५ रोपनी जग्गा १० लाख ५० हजार रुपैयाँमा किनेका थिए ।
प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन यसपटक जन्मघर तेह्रथुममा मनाउने तयारी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।

प्रधानमन्त्री ओलीले २ सय २५ रोपनी जग्गा किनेर आफू जन्मेको घरलाई संरक्षण गरी पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीका पिता अहिले पनि झापाको पृथ्वीनगरस्थित सोमबारेमा कान्छा छोरा जयप्रसादको घरमा बस्दै आएका छन् । बाल्यकाल्यमै मातृ वात्सल्य गुमाएका प्रधानमन्त्री ओलीलको न्वारानको नाम भने धु्रवप्रसाद ओली हो । उनलाई पिता मोहनप्रसादले अहिले पनि धु्रव भनेर बोलाउँछन् । छोरा धु्रवको जन्म दिन मनाउन सधैं काठमाडौं आउने गरेका मोहनप्रसाद यसपालि भने झापाबाटै तेह्रथुम जाने भएका छन् । -शिलापत्रबाट