‘हातेमालो नगरी विकास असम्भव’

125

फागुन ७,
भक्तपुर । नागरिक समाज र सञ्चार जगतसंग हातेमालो नगरी अगाडि बढे सरकारले अघि सारेका विकासका अवधारणाहरु पुरा नहुने सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको आयोजनामा फागुन ६ गते आयोजित ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको सहकार्य विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताउनु भएको हो । कार्यक्रममा सहभागी नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरुले सरकारले नागरिक समाज र सञ्चार माध्यमलाई कस्ने नीति अगाडि सारेको चर्चा गर्दै यसले तीन तह कै सरकारलाई नोक्सान पुग्ने चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले नागरिक समाजको सकारात्मक गतिलाई रोके लोकतन्त्र संकटमा पर्ने चर्चा गर्नुभयो । उहाँले भन्नुभयो–“नागरिक समाज जहाँ रहदैन, त्यहाँ लोकतन्त्र रहदैन, त्यसैले लोकतन्त्रलाई संस्थागत गर्न समाजको धारणा बोकेर हिड्ने नागरिक समाजलाई चलायमान गराउनुपर्छ ।”

कार्यक्रममा इन्सेक वागमति प्रदेश संयोजक कृष्ण गौतमले संविधानले परिकल्पना गरेको विकास र सम्बृद्धिका लागि सरकारले नागरिक समाज र सञ्चार माध्यमसंग हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा आउनै नदिई सरकारले गैरसरकारी संस्था र मिडियालाई नियन्त्रण गर्ने नीति लिएको बताउदै उहाँले पार्टी खोल्न भन्दा संस्था खोल्न र नविकरण गर्न निकै कठिन रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले आमनागरिक र सरकार बिच पुलको भूमिका निर्वाह गर्नुपर्ने नागरिक समाजलाई सरकारले कुण्ठित पार्न खोजेको भनाई राख्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल बार एशोसिएसनका भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधानले पछिल्ला समयमा फास्ट ट्रयाकदेखि गुठि विधेयकसम्म जसरी नागरिक समाजको भूमिका देखिएको छ, त्यसैगरि शुसासन र पारदर्शितामा नागरिक समाज र सञ्चार माध्यमको भूमिका अत्यावश्यक रहेको औल्याउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारले अघि सारेको सुखी नेपाली समृद्द नेपालको नारालाई सफल पार्ने हो भने सरकारले नागरिक समाज र सञ्चार माध्यमसंग हातेमालो गरेर जानुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य श्रीकृष्ण केसीले सरकारको कमिकमजोरीको अनुगमन र खबरदारी आवश्यक रहेको
औल्याउदै सरकार स्वेच्छारी ढंगले भन्दा पनि सामाजिक, आर्थिक र साँस्कृतिक विकासको गतिमा अगाडि बढनु पर्ने औल्याउनुभयो । कार्यक्रममा नागरिक समाजका अगुवना पहलमान श्रेष्ठ, नारायण न्यौपाने लगायतले जनप्रतिनिधीले दम्भ त्याग्दै विकासमा हातेमालो गरेर अगाडि बढ्न नसके विकासमा देश फेरी पछाडि पर्ने चर्चा गर्नुभयो ।