किसान उन्नत जाततर्फ आकर्षित

204

फागुन ४,
पाल्पा । पाल्पा रामपुरका किसान बढी उत्पादन दिने उन्नत जातका बीउविजन र आधुनिक प्रविधि अपनाएर व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । परम्परागत बीउविजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकोले किसानहरू कृषि कार्यालयबाट सिफारिश गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका हुन् ।

रामपुरकी अगुवा किसान सीता देवकोटा किसानलाई व्यावसायिक बन्नका लागि स्थानीय जातका तरकारी, अन्नबाली लगाएर आजको बजारमा प्रतिस्पर्धा गर्न कठिन भएकाले स्थानीय जातको साटो उन्नत बीउविजन र प्रविधितर्फ लाग्नुपरेको बताउनुहुन्छ ।
“मैले स्थानीय र उन्नत दुवै जातका तरकारी खेतीको अनुभव गरेकीे छु, व्यावसायिक हुनका लागि उन्नत जात नै रोज्नुपर्ने बाध्यता छ” उहाँ भन्नुुहुन्छ, “किसानको मेहनत र लगानीका तुलनामा स्थानीय जातको बीउबाट राम्रो उत्पादन लिन कठिन पर्छ ।”
रामपुर–७ मलेङ्गकीे गीता भट्टराई पनि उन्नत जातकै तरकारी खेतीतर्फ आकर्षित हुनुभएको छ । उहाँको अनुभवमा उन्नत जातका तरकारी लगाएपछि छोटो समयमा धेरै उत्पादन लिन सकिएको र कृषिमै आत्मनिर्भर बन्नका लागि उन्नत जातका तरकारी नै लगाउनुपर्ने हुन्छ । रासस