कोरोनाभाइरस: वयोवृद्ध र बिरामी सङ्क्रमणको बढी जोखिममा

229
सांकेतिक तस्विर

फागुन ६, बीबीसी । चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् जसमा ७०,००० भन्दा बढी कोभिड-१९ सङ्क्रमणका विवरणहरू समेटिएका छन्।
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो। उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको सङ्केत गर्छ।
मङ्गलवार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकको मृत्यु भएको थियो। ५१ वर्षीय लियो झामिङ उक्त सङ्क्रमणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक थिए। कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन्।