काठमाडौंमा तार भूमिगत गर्ने कार्य सुरु हुदैं

385

माघ १२,
काठमाडौं । शहरलाई कुरुप बनाएको तार अबको दुई हप्ताभित्र काठमाडौंमा पहिलोपटक भूमिगत गर्ने कार्य सुरु हुदैंछ ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने कामका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरिसकेको छ । ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ ।

३२ महिनाभित्र पहिलो चरणमा काठमाडौंको उत्तरी क्षेत्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्र अन्तरगत तार भूमिगत गरिसक्ने योजना छ । यसका लागि निर्माण मेसिन, उपकरण र सरसामान आईसकेको छ ।
अहिले पोलहरुमा झुन्डिएका विजुली, टेलिभिजन, टेलिफोन र इन्टरनेटका तारको गुजुल्टोले शहरलाई जति अशोभनीय देखाएको छ, त्यो भन्दा बढी दुर्घटनाको जोखिम बढाएको छ । यसलाई हटाउने गरी काम सुरु गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सुरुआतमा महाराजगञ्ज क्षेत्र र सिहंदरबारबाट धोबीखोला जाने फिडरको लाइन भूमिगत गर्न अहिले तायरी भइरहेको छ ।

‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले बताए । यो प्रविधि अपनाउँदा सय मिटरसम्मको दूरीमा दुई खाल्डा खनेर बीचभागमा भूमिगत रुपमा नै तार राख्ने पाइप हाल्न सकिन्छ । यसप्रकार तार बिछ्याइने सडकहरुमा कम्तिमा सय मिटरको दूरीमा २(२ लम्बाइ र चौंडाइको खाल्डोहरु खन्नुपर्ने हुन्छ । यो परियोजना अन्तरगत करिब २५० किलोमिटर लामो तार बिछ्याइने छ । त्यसपछि विजुलीका पोलहरु हटाइनेछ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकले प्रयोग गर्न सक्ने गरी ठूलो क्षमताको अप्टिकल फाइबर पनि सडकमुनि बिछ्याउनेछ ।

प्राधिकरणले महारजगञ्ज वितरण केन्द्र अन्तरगतको काममा २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा ९करबाहेक० ठेक्का सम्झौता गरेको छ । रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा (करबाहेक)मा सम्झौता भएको छ । -onlinekhabar