हेलम्बु राजमार्गमा मालवाहक सवारी निषेध

240

फागुन १२,
काभ्रेपलाञ्चोक । निर्माणाधीन हेलम्बु राजमार्गमा दिउँसो टिपरलगायत मालवाहक सवारी आवागमन आजदेखि निषेध गरिएको छ । निर्माणमा अवरोध पुगेको जनाउँदै पाँचखाल नगरपालिका तथा मण्डनदेउपुर नपाका स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा सडक आयोजनाका प्रतिनिधि सम्मिलित बैठकले आजदेखि निर्माण सम्पन्न नभएसम्म दिउँसो १२ देखि पाँच बजेसम्म मालवाहक सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । उक्त समयमा खाली मालवाहक सवारीलाई समेत आवागमनमा निषेध गरिएको पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो । आपतकालीन भूकम्पीय सहायता योजनाअन्तर्गत स्तरोन्नति एवं पक्की सडक बनाउने योजना ९पुनःनिर्माण०को लम्बाइ पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर छ । एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्र गरिने उक्त पाँचखाल–मेलम्ची सडक २०७४ कात्तिकदेखि शुरु भएको योजना विसं २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ ।
सडक ग्राभेल, वाल लगाउने, सडक कटिङ गर्ने, नाली, कल्भर्ट बनाउने काम भइरहेको मण्डन देउपुरका नगर प्रमुख टोकबहादुर वाइवाले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो मालवाहक सवारीलाई निषेध गरिएपछि सडक निर्माणको कामले तीव्रता पाउने विश्वास गरिएको छ । उक्त राजमार्गअन्तर्गत पाँचखाल–मेलम्ची सडक पुनःनिर्माणका लागि करीब रु एक अर्ब बजेट विनियोजन गरिएको सो सडकको हाल ३५ प्रतिशत काम सकिएको नपाप्रमुख वाइबाले बताउनुभयो । रासस
–––