परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा

68

पुस २१,
बीबीसी । इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने बताएको छ। अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यो भनाइ सार्वजनिक भएको हो। एउटा वक्तव्यमार्फत् इरानले अब उसले उक्त परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमालाई नमान्ने जनाएको छ।

सन् २०१५ मा भएको त्यस सम्झौतामा इरानको युरेनियम प्रवर्द्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो। तेहरानका अनुसार अब उसले सम्झौता अनुसार युरेनियमको भण्डारण र प्रवर्द्धनका लागि तोकिएको मात्राको उपेक्षा गर्नेछ। उक्त घोषणा तेहरानमा भएको मन्त्रिपरिषद् बैठकपश्चात् गरिएको हो। गत शुक्रवार अमेरिकी हवाई हमलामा इराकको राजधानी बग्दादमा इरानका एकजना निकै शक्तिशाली सैन्य जेनेरल कासीम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव बढेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष उक्त परमाणु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए।त्यसपछि उनले इरानमाथि थप प्रतिबन्धहरू लगाएका थिए।

इराकमा के भइरहेको छ ?
दुई देशबीच तनाव बढिरहेका बेला इराकस्थित अमेरिकी दूतावासमा थप क्षेप्यास्त्र प्रहार भएको समाचार आएको छ। बग्दादस्थित ग्रिन जोन भनिने क्षेत्रमा रहेको उक्त दूतावासलाई लक्षित गर्दै चार पटक अप्रत्यक्ष प्रहारु गरिएको एउटा समाचार स्रोतले बीबीसीलाई बताएको छ। त्यहाँ कसैको मृत्यु भएको खबर भने आएको छैन।

इरानको समर्थन रहेको कताइब हेज्बुला विद्रोही समूहले शनिवार एउटा वक्तव्य निकाल्दै इराकी सेनालाई इराकस्थित अमेरिकी शिविहरूबाट आइतवार साँझसम्म कम्तिमा एक हजार मिटर टाढा जान सुझाव दिएको थियो। यसैबीच अमेरकी राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो ट्वीटमा यदि इरानले अमेरिका लक्षित आक्रमण गरे अमेरिकाले त्यसको जवाफ दिने र आफूले आफ्नो उदेश्यबारे अमेरिकी कङ्ग्रेसलाई सूचित गरिसकेको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले चाहिँ इराकस्थित अमेरिकी सैन्यबल त्यहाँबाट हट्नुपर्ने भनी त्यहाँको संसद्बाट पारित एउटा संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको छ। वासिङ्टनले इराकी नेताहरूलाई उनीहरूबीचको साझेदारीको महत्त्वबारे विचार गर्न आग्रह गरेको छ। सो प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन्।

इरानमा के भइरहेको छ ?
इरानमा भने जेनेरल कासीम सुलेमानीप्रति सम्मान व्यक्त गर्न सयौँ हजार इरानीहरू बाहिर निस्केका छन्।सुलेमानीको तस्बिर बोकेका शोकाकुलहरूको मानव समुद्रले दक्षिण-पश्चिमी सहर अहवाजमा उनीप्रति अन्तिम श्रद्धा व्यक्त गरेको छ। त्यहाँबाट उनको पार्थिव शरीरलाई मसहद लगिएको छ। सुलेमानीको अन्त्येष्टि मङ्गलवार उनको गृहनगर कैर्मानमा गर्ने योजना बनाइएको छ।