देशभर भ्रमण वर्ष २०२० को भव्य उद्घाटन

163

पुस १६, काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को देशभर भव्य समारोहका बीच उद्घाटन गरिएको छ । दशरथ रंगशालामा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गरेकी हुन् । त्यसैगरि नगरकोटमा युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा उद्घाटन गरेका छन् । पोखरा, जनकपुरलगायतका स्थानमा समेत भ्रमण वर्षको भब्य उद्घाटन भएको छ । भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रुपमा लिनुपर्ने बताइन् ।
त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनले बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रमहरु ल्याउन नसके सम्भव नहुने बताइन् । सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविधिकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताइन् । उनले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले प्रकृतिलाई विगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताइन् । पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिवद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन् । त्यस्तै शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल शुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए । उनले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ ।