पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

176

मंसिर ९,
पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । अत्यधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार बाढी र पहिरोमा परी अरु सात जना अझै पनि बेपत्ता रहेका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुको भनाई छ । मृत्यु भएका मध्ये कम्तीमा सात जना बालबालिका रहेका छन् ।
“हामीले अहिलेसम्म गएरातीको जस्तो दर्दनाक घटना देखेको र भोगेको थिएनौँ,” वेस्ट पोकोटका गभर्नर जोन क्रोप लोङयाङले भन्नुभयो ।

स्थानीय समयानुसार शनिबार दिउसो २:३० मा पहिरो गएको अधिकारीहरुले जानकारी दिएका छन् । युगाण्डा र दक्षिण सुडाननजिकै पर्ने केन्याको सीमा क्षेत्रमा पहिरो गएको हो । पहिरोले ठूलो क्षति गरेको अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण धेरै बाटो, पुललगायतका भौतिक संरचनाहरु भत्किएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले प्रकाशित गरेको शोक वक्तव्यमा पहिरोका कारण बेपत्ता भएकाहरुको खोजी कार्य जारी राख्न र बेपत्ता तथा मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ ।