लालपुर्जा छ हातमा, जग्गा छैन साथमा

219

कात्तिक २५,
धनगढी : खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका कञ्चनपुर पुनर्वासका किरण सुनारको साथमा आफ्नै जग्गाको लालपुर्जा छ। तर, उनीसँग जग्गा भने छैन। उनको हातमा भएको लापुर्जाको जग्गा भारतीय पक्षले कब्जा गरेका छन्। दुई दशकभन्दा बढी समयदेखि सुनारको जग्गामा भारतीय पक्षले खेती लगाइरहेका हुन्। उनको १५ कट्ठा खेतीयोग्य जमिन २४ वर्षदेखि भारतीय पक्षले कब्जा गरेको हो। २०२८ सालदेखि उनीहरूले त्यो जग्गाको भोगचलन गर्दै आएका थिए। तर, २०५२ सालपछि उक्त क्षेत्र भारतमा पर्ने भन्दै भारतीय पक्षले जग्गा कब्जा गरे। आफूहरूले भोग चलन गर्दै आएको जग्गा भारतीय पक्षले कब्जा गरेपछि उनीहरू समस्यामा परेका हुन्। झन्डै ५ दशक पहिलेदेखि बस्दै आएको उक्त ठाउँमा नेपाल सरकारले जग्गा नापेर उनीहरूलाई लालपुर्जा दिएको थियो। उनको हातमा अहिले पनि लालपुर्जा त छ। तर, जग्गा छैन। लालपुर्जा भएको आफ्नो भूमिलाई भारतीयले कब्जा गर्दा पनि सरोकारवाला निकायले चासो नदिएको उनको गुनासो छ। ‘सरोकार निकायलाई पटक-पटक मौखिक र लिखित रूपमा जानकारी गराएको थिएँ’ उनले गुनासो पोख्दै भने, ‘कसैले कुनै पहल नभएपछि अब त जग्गा पाउने आस पनि मर्न थालेको छ।’ उपल्लो निकायसम्म आफूहरूको समस्या पुर्‍याइदिने कोही नभएकाले यस्तो भएको उनको गुनासो छ। आफ्नो जग्गा भारतीय पक्षले कब्जा गरेपछि उनीहरूको विचल्ली भएको छ। आफ्नो जग्गा भारत पक्षले कब्जा गरेर भोग चलन गर्न थालेपछि उनीहरूले अर्काको जमिन अधियाँ गरी परिवार पाल्न बाध्य भएका छन्। ‘अहिले अरूकै जग्गामा अधियाँ खेती गर्दै आइरहेको छौँ। त्यो खेतबाट उब्जनी भएको अन्न आधा जग्गा मालिकलाई दिन्छौँ र आधा मात्र हामी राख्छौँ’ उनले भने, ‘अहिले उत्पादन कम हुँदै गएको छ झन् समस्या बढिहरेको छ।’ सरोकारवाला निकायले आफ्नो लालपुर्जा भएको जमिन फिर्ता गराइ दिनुपर्ने उनको माग छ।