Thursday, October 8, 2026
Home पत्रपत्रिका प्राज्ञिक थलोमा नै चरम विकृति, उपकुलपति नियुक्तिका लागि चलखेल सुरु

प्राज्ञिक थलोमा नै चरम विकृति, उपकुलपति नियुक्तिका लागि चलखेल सुरु

202

राजधानी दैनिक
साउन १७, काठमाडौं । प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोका रूपमा रहेका देशभरका विश्वविद्यालयहरूमा राजनीतिक पहुँच र आस्थाका आधारमा उपकुलपति नियुक्ति हत्याउन विभिन्न व्यक्ति दौडधुपमा लाग्न थालेका छन् । यसअघि धेरैपटक लाभको पदमा बसेर भरमग्दुर फाइदा लिएका व्यक्ति नै पुनः उपकुलपति बन्न राजनीतिक रूपमा लबिङ गरिरहेका हुन् । उपकुलपति पद आफ्नो पोल्टामा पार्न विशेषत सत्तारूढ दल नेकपा निकटका प्राध्यापकहरूले उच्च तहका नेतासँग लबिङ गरिरहेको स्रोतले बताएको छ । त्रिभुवन विश्वविद्यालयसहित नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आगामी ५ भदौबाट उपकुलपति रिक्त हुँदै छ ।

ती विश्वविद्यालयको उपकुलपति आफ्नो पोल्टामा पार्न दौडधुप र राजनीतिक लबिङ सुरु भएको हो । कहिले प्राध्यापक नियुक्तिमा भागबन्डा त कहिले अंक चढाएर विद्यार्थीलाई सर्वोत्कृष्ट बनाएको भन्दै विवादमा तानिएका ती विश्वविद्यालयमा यतिबेला उपकुलपति नियुक्तिको चलखेल सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नेकपा निकटका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा चन्द्रमणि पौडेल प्रमुख दाबेदारका रूपमा लबिङ गरिरहेका छन् । प्रा.डा.पौडेल त्रिभुवन विश्वविद्यालयका पूर्वरजिस्ट्रारसमेत भइसकेका छन् । यस्तै, प्रा. गणेशमान गुरुङ पनि उपकुलपतिका लागि दौडधुप गरिरहेका छन् । उनी पूर्वसांसदसमेत हुन् । यस्तै, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादव लामिछाने पनि आन्तरिक लबिङमा लागिरहेको स्र्रोतले बताएको छ ।