Friday, October 23, 2026
Home पत्रपत्रिका कांग्रेसको तारो किन बने गृहमन्त्री लामिछाने ?

कांग्रेसको तारो किन बने गृहमन्त्री लामिछाने ?

54

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन अन्तिम साता एकाएक सत्ताको काँध फेर्ने निर्णय गरेपछि कांग्रेसमा ‘हतास’ मानसिकता देखा पर्‍यो। ‘अत्तालिएको’ कांग्रेसले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि रास्वपा अध्यक्ष रवि लामिछानेलाई नयाँ गठबन्धनमा प्रधानमन्त्रीको प्रस्ताव गर्‍यो। तर, दुवैले मानेनन्। परिणामतः कांग्रेस सत्ताबाहिर पुग्यो।

कांग्रेसको काँध फेरेकोमा स्वभावतः पनि कांग्रेस प्रधानमन्त्री दाहालप्रति आक्रोशित बन्नुपर्ने हो। तर, कांग्रेसको निशानामा छन्–रास्वपा अध्यक्ष एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने। लामिछानेको राजीनामा माग्दै कांग्रेसले लगातार संसद्मा चर्को माग मात्र गरेन, संसद् पनि अवरोध गर्‍यो। कांग्रेसले लामिछानेको राजीनामा मागेकोमा प्रधानमन्त्री मात्र होइनन्, सत्तासीन एमाले अध्यक्ष केपी ओली पनि असन्तुष्ट छन्। ओली र दाहाल रविको बचाउमा खुला रूपमा उत्रेका छन्।

सत्तासीन एमाले र माओवादी लामिछानेको बचाउमा उत्रेपछि कांग्रेसले उनीमाथि छानबिनका लागि संसदीय छानबिन समितिको माग गरिरहेको छ। तर, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले संसदीय छानबिन समितिको आवश्यक्ता नभएको प्रतिक्रिया दिइसकेका छन्। दुई ठूला दलको साथ पाएपछि लामिछानेले पनि कांग्रेसलाई ‘चारै वर्ष संसद् अवरोध गरे पनि’ फरक नपर्ने चुनौती दिइसकेका छन्।

आखिर, कांग्रेसको निशानामा राजस्वा अध्यक्ष लामिछाने किन त रु कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘एक त गठबन्धनको मुख्य पिलर लामिछाने हुन्। उनको राजीनामा गराउन सकियो भने गठबन्धन अप्ठ्यारोमा पर्छ। दोस्रो हिजो, आरोप लाग्दैमा कांग्रेसका मन्त्रीको राजीनामा माग्नेमा लामिछाने अग्रभागमा थिए, आज उनीमाथि प्रश्न उठेपछि हामीले पनि उनको राजीनामा किन नमाग्ने त ?’

एक्कासि आफूलाई धोका दिएको र विवादित पात्र रविलाई काँधमा बोकेर राजनीति समीकरण चलाएको आरोप कांग्रेसले प्रधानमन्त्री दाहालमाथि लगाइरहेको छ। त्यसैकारण पनि कांग्रेसले संस्थागत रूपमै रविको विषयमा आक्रामक बन्ने नीति नै लिएको छ। पार्टीका महामन्त्री गगन थापाले स्वार्थ बाझिने गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नभएको भन्दै संसद्मा जोडदार रूपमा लामिछानेको राजीनामा मागे। सहकारी ठगी प्रकरणमा प्रमाण नै बाहिर आइसकेकाले लामिछाने गृहमन्त्रीमा बसिरहन उपयुक्त नहुने थापाको तर्क थियो।

-यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।