पर्वतारोहीलाई श्रीमती पाउन गाह्रो

44

नेपाल समाचारपत्र (कपिल काफ्ले)
कार्तिक २१, नाम्चे, सोलुखुम्बु। खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ। सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई विद्यार्थीले मात्र ‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भनेका छन्। दशैं–तिहारको लामो बिदापछिको पहिलो दिन गत आइतबार विद्यालय आएका सीमित विद्यार्थीमध्ये सर्वेक्षणमा सहभागी हुन चाहने विद्यार्थीमा गरिएको यस सर्वेक्षणमा १० छात्रा र १७ छात्र सहभागी थिए।

सहभागीमध्ये पर्वतारोहणमा विश्वप्रसिद्ध मानिएको जाति शेर्पा समुदायबाट १० छात्र र चार छात्रा सहभागी थिए भने अन्य सहभागी राई र तामाङ समुदायका बढी थिए।‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भन्ने दुई मात्र शेर्पा छात्र कक्षा १० मा अध्ययनरत छन्। उनीहरूले पर्वतारोहण गर्न इच्छा देखाउनुको कारणमा ‘यो बहादुरीको काम हो, नेपाललाई हाम्रा बाबु–बाजेले यही काम गरेर चिनाए, हामीले पनि चिनाउनुपर्छ’ भनेका छन्। तर, सर्वेक्षणको रमाइलो पक्ष के थियो भने चार शेर्पा छात्रासहित सहभागी १० छात्रालाई तपाईं कस्तो श्रीमान् वा जीवनसाथी चाहनुहुन्छ भनेर गोप्यरूपमा लेखेर दिन भनिएकोमा कसैले पनि ‘म पर्वतारोही श्रीमान् चाहन्छु’ भनेनन्।

पाँच जनाले मेडिकल डक्टर, तीन जनाले पत्रकार र दुई जनाले इन्जिनियर श्रीमान् वा जीवनसाथी भइदिए हुन्थ्यो भन्ने इच्छा प्रकट गरे। पर्वतारोहणप्रति खास गरी शेर्पा समुदायमा घट्दो आकर्षणका विषयमा यस क्षेत्रका विज्ञहरूलाई नेपाल समाचारपत्रले प्रश्न गर्दा ‘पहिला जीविकोपार्जनका लागि विकल्प थिएन, हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा पैसाका लागि ज्यान जोखिममा हालेर हिमाल चढ्थे, तर अहिले शेर्पा डाक्टर, इन्जिनियर, प्रशासक सबै छन्, किन त्यही जोखिम मोल्ने’ भन्ने जवाफ प्राप्त भएको छ।

सगरमाथा आधार शिविरभन्दा केही किलोमिटर मात्र तल ५ हजार मिटरको उचाइमा रहेको लोबुचेका प्रभावशाली होटेल व्यवसायी आङङिमा शेर्पा भन्नुहुन्छ– ‘मूर्ख मात्रै हिमाल चढ्न जाने हो, मरिन्छ भन्ने थाहा पाएर पनि काल खोज्न जाने व्यक्तिलाई मूर्ख नभने के भन्ने !’ सगरमाथा आरोहणका क्रममा श्रीमान् दुर्घटनामा परेर निधन भएपछि श्रीमान्कै बाटो पछ्याउँदै एकल महिलाका रूपमा सर्वोच्च शिखर ६ महिनाअघि मात्र आरोहण गर्न सफल पाङबोचेकी फुर्दिकी शेर्पा भन्नुहुन्छ– ‘शेर्पालाई पर्वतारोहणप्रति आकर्षित गर्न सरकारले कुनै वास्ता नगरेकाले पनि हामी निराश भएका हौं, म एउटी विधवा सगरमाथा आरोहण गर्न गएँ, राज्यले जाबो ८० हजार रुपियाँको रोयल्टीसम्म मिनाहा गरिदिएन।’