
नेपाल समाचारपत्र
कार्तिक ६, काठमाडौंं। सविधान संशोधनको माग पूरा नभएको भन्दै सरकारमा सहभागी समाजवादी पार्टीभित्र सरकारबाट बाहिरिने पक्षमा मत बढे पनि अहिले नै हट्नु नहुने तर्क राख्ने समूह पनि उत्तिकै प्रभावमा छ।एक पक्ष ‘सरकारबाट हट्ने निर्णय लिनका लागि समाजवादी पार्टीले यही कात्तिक ३० र ३१ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ’ भनिरहेको छ भने अर्को पक्ष ‘बैठकको एजेन्डा तय नभएको’ दाबी गरिरहेको छ।
समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले आगामी केन्द्रीय समितिको बैठकले सरकारका बारेमा निर्णय लिने नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले भन्नुभयो– ‘संविधान संशोधन गर्ने शर्तमा सरकारमा सहभागी भएका हौं, संविधान संशोधन हुँदैन भने सरकारमा सहभागी हुनुको औचित्य छैन।’ ‘सरकारबाट हटेर संविधान संशोधनको एजेन्डा लिएर जनताका बीचमा जानुको विकल्प छैन।’ –नेता श्रेष्ठले भन्नुभयो।
समाजवादी पार्टीबाट पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित तीन मन्त्री सरकारमा सहभागी रहेका छन्।संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल मिलेर बनेको समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा। बाबुराम भट्टराईबीच संविधान संशोधन नभएको अवस्थामा सरकारबाट बाहिरिने सहमति भएको थियो। तर, सरकारको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका अध्यक्ष यादवले भने सरकारबाट हट्न भाका सार्दै आउनुभएको छ।
सरकारमै रहेर पनि समाजवादी पार्टीले संविधान दिवस मनाएको थिएन। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको भन्दै गत जेठमा समाजवादी सरकारमा सहभागी भएको थियो।संविधान दिवस नमनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टीसँग असन्तुष्ट रहनुभएको छ।
पार्टीका अध्यक्ष बाबुराम भट्टराईले लामो समय बितिसक्दासमेत संविधान संशोधनको प्रक्रिया अगाडि नबढेको भन्दै तत्काल सरकारबाट बाहिरिनुपर्ने दबाब पार्टीभित्र दिँदै आउनुभएको छ। तर अध्यक्ष यादवले भने सरकारलाई एक पटक सचेत गराएर मात्र सरकारबाट हट्ने भन्दै लम्ब्याउँदै आउनुभएको छ।