रौतहटमा बम विस्फोटको १८ दिनपछि मात्रै मुचुल्का उठाएको खुलासा

141

कान्तिपुर दैनिक
कार्तिक ४, काठमाडौँ — रौतहटमा १२ वर्षअघि बम विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा हालेर मारिएको घटनामा प्रहरीले १८ दिनपछि मात्रै मुचुल्का उठाएको पाइएको छ । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको संलग्नता रहेको भनिएको २०६४ चैत २७ गतेको उक्त घटनामा प्रहरीले राजनीतिक दबाबमा परेर मुचुल्का ढिला गरी उठाएको खुलेको हो ।

हाल अनुसन्धानमा खटिएका एकप्रहरी अधिकारीले त्यति बेला आरोपितमाथि ‘कल डिटेल रेकर्ड’ (सीडीआर) हेरेर अनुसन्धान नगरिएको बताए । त्यतिबेला प्रहरीले आरोप लागेका व्यक्तिमाथि प्राविधिक अनुसन्धान गरेको थिएन । घटनाको लगत्तैजसो नजिकैको इलाका प्रहरी कार्यालयका प्रमुखको सरुवा भएको थियो । ‘बम विस्फोटमा परी घाइते भएका मानिसलाई जिउँदै इँटाभट्टामा हालेर मारेको जघन्य अपराधसम्बन्धी घटनाको अनुसन्धानमा प्रविधिको प्रयोग पनि गरेको देखिएन,’ अनुसन्धानको पछिल्लो प्रगति उल्लेख गर्दै प्रहरी स्रोतले भन्यो । मुख्य योजनाकार भनिएका आलमलाई रौतहट प्रहरीले घटनाको १२ वर्षपछि गत असोज २६ गते पक्राउ गरेको छ । सांसद आलममाथि अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले पीडितको बयान र तत्कालीन अवस्थाका सबुत प्रमाणसहित सुरुबाटै घटनाको अनुसन्धान थालेको हो ।