नेपाली चेली बोनिता शर्मा बिबिसीको शक्तिशाली महिलाको सूचीमा समाबेश

142

असोज २९,
काठमाडौं । पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को शक्तिशाली एक सय महिलाको सूचीमा परेकी छिन्।

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा पनि अटाइन्। बिबिसीले ६ वटा क्याटेगोरी तयार पार्दै १ सय महिलाको सूची सार्वजनिक गरेको हो। पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूची सार्वजनिक गरिएकोमा बोनितालाई ज्ञानको श्रेणीमा राखिएको छ।

२७ वर्षे बोनितालगायतको टोलीले ‘सोचाइ’ (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) नामक संस्था स्थापना गरी विशेषतः नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएर काम गरिरहेको छ।

बीबीसीका अनुसार, शर्मा निकै संघर्षका साथ सामाजिक सेवामा आएकी हुन् । सुरुमा उनलाई गृहिणी बन्ने चर्को दबाव थियो । तर, आमाको प्रेरणाले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेकी उनले महिला शिक्षा र तिनको सशक्तीकरणका लागि भूमिका खेलेको बीबीसीमा उल्लेख छ । शर्मा पत्रकार एवं गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी तथा सामाजिक कार्यकर्ता लक्ष्मी न्यौपानेकी छोरी हुन् ।

महिला शिक्षाका लागि उनको परियोजनाले खेलेको भूमिकाको सम्मान गर्दै युनेस्को मलाला कोषबाट उनको संस्था पुरस्कृतसमेत भएको छ। उनी र उनको संस्था ‘सोचाइ’ले ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत यसै वर्ष हात पारेको थियो।

दिगो विकास लक्ष्य नं २ को भोकमरी विधाअन्तर्गत १ सय देशका १२ सय प्रतिस्पर्धीलाई पछि पार्दै ‘सोचाइ’ले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो।