राष्ट्रपति सी भ्रमण: अनुदानमा भएमात्र चीनसँग रेल्वे सम्झौता गर्न सरकारलाई कांग्रेसको सुझाव

211

असोज २३,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको आवश्यकता र स्वार्थलाई मद्दत पुग्ने तथा प्रतिफल दिने आयोजनामा मात्र चीनसँग ऋण स्वीकार गर्न सरकारलाई सुझाव दिएको छ ।ऋणमा नभई अनुदानमा बनाइदिए मात्र चीनसँग रेल्वे सम्झौता गर्नुपर्ने कांग्रेसको सुझाव छ ।

चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिफल आउने आयोजनामा मात्र ऋण स्वीकार गर्न सरकारलाई सुझाव दिएका हुन् ।

‘बीआरआई कार्यान्वयनमा ऋण स्वीकार गर्दा हाम्रो देशको स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर प्रतिफल आउने आयोजना छान्ने तथा तिर्न सक्ने ऋण मात्र लिनुपर्छ भन्ने हामीहरूको सुझाव रह्यो,’ बैठकमा सहभागी नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले भने ।

कांग्रेसले कनेक्टिभिटी र नेपालमा लगानी भित्र्याउने कुरामा जोड दिन सुझाव दिएको उनले बताए ।

‘प्रधानमन्त्रीज्यूले रेल्वेको कुरा पनि उठाउनुभएको थियो, हामीले विनातयारी यस विषयमा कुरा गर्नुहुँदैन भन्यौं,’ महतले भने, ‘अनुदानबाट लगानी हुन्छ भने चीन र भारत दुवैले बनाउने रेल नेपाल ल्याउनुपर्छ । अनुदानमा आएमात्र फिजिवल हुन्छ, ऋण लिएर रेल्वे बनाएर तत्काल प्रतिफल आउने छैन, सयौं वर्ष लाग्छ ।’ कांग्रेसले पर्याप्त तयारी गरेर मात्र चिनसँग सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ ।