-भुवन शिवाकाेटी “चाैघरे”
एकाबिहानै मन्दिरमा घन्टहरू बज्छन
शंखकाे ध्वनी कम हुँदै जान्छ
दूरदराज व्यूँझाएर
मशानघाटतुल्य घरहरूमा चहलपहल शुरू हुन्छ
सयनकक्षहरू खाली हुँदै जान्छन्
मिरमिरे उज्यालाेसँगै
सडकहुदैं उकाली ओरालीकाे बाटाेबाट
कारखानामा बाक्लिन्छन मान्छेहरू
बिभत्स भविश्य जन्माउन
बिस्तारै
स्वचालित मेशिनहरू चल्छन
अर्धनिद्राबाट जाग्छ भाेक र लाेभ
फरक जीवनकाे गति भेटेर
कठाेर हुदै जान्छन फलाम उचाल्ने हातहरू
एकाेहाेरिंदै जान्छन् मनहरू
पिल्सदै जान्छ रहर
धुलाे हुँदै जान्छ
टुक्रिदै जान्छ
फरक फरक आकारमा फलाम
पग्लदैजान्छ
पग्लिएर रूप परिवर्तन हुँदै जान्छ
पाइन भरेर
राताे फलाम आकार लिएर बन्छ कठाेर
कतै मुर्ती,
कतै पानी बग्ने पाइप
कतै बिम र पुल बनाउने स्ट्रक्चर
यस्तै यस्तै अनगिन्ती रूपबाट
मान्छे भन्दा बलियाे भएर
जन्मन्छ हतियार
हतियार र पुर्जा बनाउँदा बनाउँदै
कलिला हातहरूमा
उमेर छिप्पिदै गएका छन्
अनुहारभरि पढन सकिन्छ
बितेका उमेरका धर्साहरूमा
तप्किरहेका
असन्तुष्ट परिश्रमका जलनहरू
सुगन्ध छैन
फूलहरू ओइलिएका छन्
भाग्य बन्धकी भएकाे छ हतियारका पुर्जाहरूमा
रगत बगिरहेकाे भविश्य देखेर
भय भरिएकाे छ
निर्माणकर्ताका आँखामा आनन्द छैन
तैपनि
मन जलाएर आकार दिन
घरका चिसा छिंडी सम्झिएर
राताे र ताताे पग्लिएकाे झाेल फलामसँग
न्यानाे साँटछन श्रमिक
थकाइका सुस्केरामा
चुराेटकाे सुर्ती र धुवासँग जीवन साँटछन
समय पुल बनाउँछ
भत्काउछ असमयकाे बाढि जसरी
असन्तुष्टिकाे हिंसा
किनारा बाँधिएर ओहाेर दाेहाेर गर्छ
हतियारधारीकाे घमन्ड
आफ्नाे आँग चिसाे राखेर
अरूलाई न्यानाे बनाउन
बारूद बनाउँछ श्रमिक
तर पड्किएर छ्याल्लव्याल्ल बनाउँछ
त्यहि बारूद शान्तिकाे समाज
खुकुरीमा धार भर्छ श्रमिक
तर गला रेटिएर पाेखिन्छ रगत
पबित्र स्थानहरूमा
उपयाेग गलत भैदिन्छ हतियारकाे
भाग्यले मुख माेड्छ
मान्छेहरूमा दानवियता चढेपछि
मारिन्छन तिनै हतियारबाट बलि चढेर
जाे निरपराध हुन्छन
बाहिरबाट हेर्दा शान्त देखिन्छन्
मन्दिर, मस्जिद,चर्च र गुम्वा
तर भित्री आवरणमा
कस्तुरीकाे सुवास झैं
धुपमा सल्किएर फैलिएकाे छ
धुवाभित्र आगाे
धर्म भिजेकाे छ छपक्कै
अन्धविश्वास लतपतिएकाे रगतमा ।