हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या : उच्चरक्तचाप र अक्सिजनको कमी

136

असोज २०,
काठमाडौं । सोमबार साँझ पक्राउ परि हिरासतमा लिइएका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। पक्राउ लगत्तै महराको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। उनका अनुसार महरामा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ।
‘पक्राउ पछि उहाँको स्वास्थ्य परीक्षण गरिएको हो, स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ, सुवेदीले भने, ुउहाँले पहिले देखि नै उच्च रक्तचापको औषधी पनि खाने गरिरहनु भएको रैछ। सुवेदीले महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुने जानकारी दिए।
अदालत २८ गते मात्र खुल्नेछ। अदालत खुलेसँगै म्याद थपको अनुमति लिइने जनाइएको छ। त्यसपछि दुवै पक्षलाई सरकारी वकिलको कार्यालयबाट बयान लिने काम हुने सुवेदीले बताए। उक्त मुद्दा काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्ने सुवेदीले बताए।
अदालतको दशैं विदा २६ गतेसम्म छ। तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा विदा दिइएको छ। महराको दशैं काठमाडौंको अनामनगरस्थित महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा नै बित्नेछ।