करणको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा नेदरल्याण्ड पराजित

134

असोज २०,
काठमाडौँ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा करण केसीको उत्कृष्ट अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । करणले मात्र १४ बलमा ३१ रन बनाएपछि नेदरल्याण्डले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै पछ्यायो ।
करणले यसक्रममा १ चौका र तीन छक्का हिर्काए ।

त्यस्तै, कप्तान पारस खड्काले ३३ रनको योगदान दिए भने विनोद भण्डारीले २६ रन बनाए । यसअघि करण र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि नेदरल्याण्ड १ सय ३३ रनमा समेटिएको थियो । नेदरल्याण्डलाई १९।३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३।३ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिए ।

खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।नेदरल्याण्डका लागि ओपनर म्याक्सवेल प्याट्रिक ओ डाउडले सर्वाधिक ४३ रनको योगदान दिए भने एन्टोनियस स्टालले २१ रन बनाए । कोलिन एकरम्यानले २९ रन बनाउँदा विकेटकिपर स्कट एडवार्डले १६ रनको योगदान दिए । नेपालका लागि ललित राजवंशीले १ विकेट लिए । दुई खेलबाट ४ अंकसहित नेपाल रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।

यसअघि पहिलो खेलमा नेपालले पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।