असोज १५,
काठमाडौं । संसद सचिवालयकी एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ । संवैधानिक व्यवस्था अनुसार महराले राजीनामा उपसभामुख समक्ष मंगलबार नै बुझाएका हुन् । यो प्रक्रियाले पूर्णता पाउन अपनाउने प्रक्रियामा भने ढिलाई भएको थियो ।
तर बुधबार संसद सचिवालयले सबै प्रक्रिया पूरा गरेर महराको राजीनामालाई पूर्णता दिएको हो। संवैधानिक व्यवस्था अनुसार संसदको अधिवेशन चालु रहेको अवस्थामा सभामुखको राजीनामा पत्र संसदमा पढेर सुनाउनु पर्छ । तर संसदको अधिवेशन असोज २ गते अन्त्य भएको थियो । राजीनामाले पूर्णता पाउने अर्को बाटो पनि छ, संसदको अधिवेशन चालु नरहेको अवस्थामा । त्यसका लागि संसद सचिवालयले राजीनामा सम्बन्धी सूचना प्रकाशित गर्नु पर्छ ।
तर संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई परिवारका सदस्य बिरामी भई उपचारका लागि भारतको नयाँ दिल्लीमा छन्, जसका कारण राजीनामाको प्रक्रियाले मंगलबार पूर्णता पाएको थिएन । महासचिव भट्टराई मंगलबार नै स्वदेश फर्किने प्रयासमा रहे पनि सकेनन् । बुधबार पनि हवाई टिकट पाउन समस्या भयो । महासचिव भट्टराईको अनुपस्थितिमा संसद सचिवालयका सचिव भरतराज गौतमले हस्ताक्षर गरी बुधबार दिउँसो सूचना निकालेर महराको राजीनामा प्रक्रियालाई पूर्णता दिएका हुन् । ‘सम्माननीय सभामुख कृष्णबहादुर महराले यही असोज १४ गते ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनी प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिनुभएकोले माननीय उपसमाभुखज्युको आदेश अनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम ९२० बमोजिम यो सूचना प्रकाशन गरिएको छ’, संसद सचिवालयले बुधबार निकालेको सूचनामा भनिएको छ।