सवारी दुर्घटनामा उपत्यकामा दुई जनाको मृत्यु

172

असोज १५,
काठमाडौँ । काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यता काठमाडौँ, चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित सडकमा बा३ख ३८१७ नम्बरको टिपरले बा२६प ४९०३ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका चितवन रत्ननगरका सुनिल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको वीरअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर इमाडोलका टीकाबहादुर बानियाँको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।