सरकारी गाडीको चरम दुरुपयोग

120

राजधानी दैनिक
असोज १०, काठमाडौं । सरकारी गाडीको दुरुपयोग रोक्न थुप्रै पटक अभियान सञ्चालन गरियो तर समस्या यथावत् नै छ । अझ उच्चपदस्थ सरकारी अधिकारीले पारिवारिक घुमघाम, किनमेल र धराशयी सामग्री ओसार–पसारमा सुविधाको गाडी प्रयोग गरी सरकारी गाडीको चरम दुरुपयोग गरेका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयका कर्मचारीले सरकारी गाडी लिएर सहुलियत पसलमा सामान किन्ने गरेको देखिएको छ । उनीहरू कार्यालय समयभित्र नै सरकारी गाडी लिएर सहुलियत पसलमा सामान किन्ने गरेको पाइएको हो । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादबले तामझामका साथ सिंहदरबारस्थित बग्गीखाना नजिकै २३ भदौमा उद्घाटन गरेको सहुलियत पसलमा सर्वसाधारणभन्दा कर्मचारीको भीड बढी देखिएको छ ।

साल्ट टे«डिङ कर्पोरेसनकी शर्मिला प्रधानले सहुलियत पसलमा सामान किन्न सर्वसाधारणभन्दा बढी कर्मचारी र गाडी भएका व्यक्ति धेरै आउने गरेको बताइन् । करिब ७० प्रतिशत सरकारी कर्मचारी, २५ प्रतिशत गाडी भएका र ५ प्रतिशत जति मात्र सर्वसाधारण सहुलियत पसलमा सामान किन्न आउने गरेको उनले बताइन् । ‘यहाँ आउने अधिकांशले चिनी र नुन किन्ने गरेको छन्’, उनले भनिन्, ‘सरकारी कर्मचारीले गाडी नै ल्याएर चिनी, नुन, तेल, गेडागुडी र चामललगायत खाद्यान्न सामग्री किनेर लग्ने गरेका छन् ।’ प्रधानका अनुसार, सर्वसाधारणलाई गाडीमा आउने जाने खर्च नै बढी पर्ने हुँदा उनीहरू कमै संख्यामा यहाँ आउने गरेका छन् । धेरै जसो सिंहदरबार वरिपरिका कर्मचारी नै बढी आउने गरेका छन् । साल्ट टे«डिङ कर्पोरेसनले सहुलियत पसलबाट दैनिक करिब ३ लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको उनले बताइन् । घटस्थापनापछि दैनिक करिब ५ लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान उनको छ ।