Sunday, September 27, 2026
Home पत्रपत्रिका अनुुसन्धनमा गृहको प्राविधिक टोली सक्रिय

अनुुसन्धनमा गृहको प्राविधिक टोली सक्रिय

70

नागरिक दैनिक
असोज ८, काठमाडौं । गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ। मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्णल सुवेदीले प्राविधक टोली गठन गरी अनुसन्धान थालेको पुष्टि गरे। ‘यो नितान्त प्राविधिक टोली हो, यसको आफ्नै कार्यक्षेत्र छ त्यसकारण यो विषयमा बढी प्रचारवाजी गर्नु जरुरी छैन, अनुसन्धान भैरहेको छ’, प्रवक्ता सुवेदीले भने। गत बर्ष साउन १० गते पन्तको बलात्कारपछि हत्या गरिएको थियो। साथीका घरबाट गृहकार्य गरेर घर फर्किरहेकी पन्तको गत वर्ष साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो।

गृह मन्त्रालय स्रोतका अनुसार रिजालको टिमलाई १५ दिनको समय दिइएको छ। ‘उनले एक हप्ता मात्रै भयो काम थालेको अब एक हप्तापछि आफ्नो प्रतिवेदन बुझाउनेछन्, समय पुगेन भने थप पनि हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो, ‘प्राविधिक रुपमा त्रुटि भए कहाँ कसरी भएको हो त्यसको बारेमा अनुसन्धान गरी प्रतिवेदन दिन भनिएको छ।’