स्कुल जानु छ खाली खुट्टा

73

अन्नपूर्ण पोष्ट
होलिया (बाँके) । २१ कात्तिक २ बजे। बेतहनी-होलिया सडक खण्डमा एक हुल विद्यार्थी भेटिए। उनीहरूले टिसर्ट र हाफ पाइन्ट लगाएका थिए। टिसर्ट च्यातिएको थियो। हाफपाइन्ट ठाउँठाउँमा सिलाएको स्पष्टै देखिन्थ्यो। लामबाहुले लगाउने निकै कम थिए। तीनदेखि पाँच वर्ष उमेर नकटेका उनीहरू सबै हतारमै देखिन्थे। थोरै अलकत्रा छर्केर कालोपत्रे गर्न तयार गिट्टीयुक्त सडकमा अधिकांश नांगो खुट्टामै थिए। केहीको खुट्टामा चप्पल थियो। जुत्ता त कसैले पनि लगाएका थिएनन्।

यो बाँकेको डुडुवा गाउँपालिकाको होलियास्थित जनता आधारभूत विद्यालयका विद्यार्थी घर फर्कंदै गर्दा हो। विकट गाउँ होलियामा मधेसी समुदायको बसोबास छ। ‘सबैजसो मधेसी समुदायका बालबालिका छन्। उनका बाआमाले नै जुत्ता/चप्पल लगाउँदैनन्। सन्तानलाई पनि खाली खुट्टा स्कुल पठाउँछन्’, सरस्वती बाल विकास केन्द्रकी शिक्षिका नारायणी पुनले भनिन्, ‘यिनीहरूलाई खाली खुट्टामै हिँड्ने बानी छ। कतिलाई त जुत्ताचप्पल लगाएर हिँड्न पनि आउँदैन।’ विद्यालयकी सहायक जनक दुलारी चौहानले कतिले त स्कुलमा हराउँछ भनेर चप्पल घरमा लुकाएर आएको बताइन्।