भारतमा मानिसको टाउकोमा सिंग पलाएपछि…

231

एजेन्सी, असोज ६,
काठमाडौं । विभिन्न कथा कहानीहरुमा मान्छेका सिङ पलाएको बारेमा त सुन्नुभएकै छ होला । तर भारतको मध्यप्रदेशमा चाहिँ साँच्चिकै मान्छेको टाउकोमा सिङ पलाएको छ । मध्यप्रदेशको सागर जिल्लामा पर्ने रहली गाउँमा बस्ने ७४ वर्षका श्यामलाल यादवको टाउकोमा केही वर्षअघि एउटा सिङ पलाएर बढिरहेको थियो । हालै शल्यक्रिया गरी उक्त काटिएको छ ।

केही वर्षअघि टाउकोमा चोट लागेसँगै उनको टाउकोबाट सिङ उम्रिएको र त्यो बढ्दै गएको श्यामलालले बताएका छन् । उनले टाउकोमा पलाएको सिङ सानो छँदै कैयन् पटक काटेपनि । तर त्यो पलाइरह्यो । त्यसपछि उनले डाक्टरकहाँ गएर देखाए । तर त्यसको शल्यक्रिया उपचार गर्न धेरै रकम लाग्ने बताएपछि उनी हच्किए ।

अन्ततः स्थानीय एक अस्पतालमा उनको हालै शल्यक्रिया भयो र डाक्टरहरुले उनको टाउकोबाट सिङ काटेर फ्याँकिदिए । उनको टाउकोमा सिङ पलाएको समस्यालाई चिकित्साको भाषामा सेबासियस हर्न भनिन्छ । यो दुर्लभ रोग हो । उनको शल्यक्रिया गरी सिङ निकाल्नका लागि केही घण्टा लाग्यो । अन्ततः उनले सिङबाट छुटकारा पाए ।