चौथो मिस्टर भक्तपुरको उपाधी जयरामलाई

77

असोज ५,
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा आयोजित ‘चौथो मिस्टर भक्तपुर २०७६’ र पहिलो महिला एथ्लेटिक्स फिजिक्सको उपाधि जयराम त्वायना र सनम मुलगुठीले जितेका छन् । ७० प्लस किलो तौल समुहबाट प्रतिस्पर्धा गरेका त्वायनाले ४३ जना प्रतियोगीहरुलाई उछिन्नेर मिस्टर भक्तपुरको उपाधि हात पारेका हुन् भने मुलगुठीले आठ जना महिलाहरुलाई पछाडि पारिन् । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गरेको प्रतियोगिता जित्ने त्वायनालाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रमाण–पत्र, शिल्ड, मेडल तथा व्यानेट प्रदान गरे । त्यस्तै पहिलो महिला एथ्लेटिक्स फिजिक्सको दाबेदार मुलगुठीलाई नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीले उपाधि दिलाइन् । शारीरिक सुगठन प्रतियोगितामा विभिन्न विधामा उपाधि जितेका प्रतिस्पर्धीहरुलाई निक भुजीकिक तथा शिवशिखर कृषि सहकारीले प्रोत्साहन स्वरुप नगद पुरस्कार दिएका छन् ।
पाँच चरणमा आयोजित प्रतियोगिताको फाइनलमा ट्याग नम्बर ४७ का जयरामलाई मन्ध्यान्तरदेखि नै दर्शकदीर्घाबाट उतिकै हुटिङ गरिएको थियो । खचाखच भरिएको यचु पार्टी भेन्यूको हलमा प्रताप काजी बरिया संयोजक रहेको ९ सदस्यीय निर्णायकहरुको टोलीले जयरामलाई ‘चौथो मिस्टर भक्तपुर २०७६’ को लागि सिफारिस गरिएको थियो ।

प्रतियोगितामा अमितकुमार मण्डल दोस्रो, रामचन्द्र तेस्रो, नितेश श्रेष्ठ चौथो र पाँचौमा विवेक अवाल घोषित भए । ५५ किलोदेखि ७० भन्दा माथि तौलका पाँच समुह बनाएर प्रत्येक समुहबाट एक एक जनालाई उत्कृष्ट बडी बिल्डर छनोट गरिएको थियो । प्रतियोगिताको औपचारिक चरणलाई सम्बोधन गर्दै संघका अध्यक्ष बाबुकाजी मानन्धरले भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले यस अघि तीन पटक सम्म जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिसकेको जनाए । ०५२ सालमा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ नारा दिएर स्थापना गरिएको संघले जिल्लाको खेलकुद विकासमा अनवरत काम गर्दै आएको उहाँको भनाई छ ।

कार्यक्रममा जिल्लाबाट अन्तराष्ट्रिय प्रतियोगिता जितेका खेलाडीहरुलाई सम्मान गर्दै निर्णायकको लागि कोर्स पूरा गरेका तथा पदोन्नती गरेका खेलाडीलाई प्रमाण पत्र दिइएको थियो । अशोक घजुले संयोजन गरेको प्रतियोगितालाई संचारकर्मी केके मानन्धर तथा ज्ञानेन्द्र मानन्धरले संयुक्त रुपमा संचालन गरेका हुन् । कार्यक्रममा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका पदाधिकारी, विभिन्न संस्थाका प्रतिनिधि, समाजसेवी, खेलकुदप्रेमीहरुको सहभागिता थियो ।