कार्यकर्ता बढाउन र फकाउन पदकको ‘योगदान’

174

नेपाल समाचारपत्र
असोज ५, काठमाडौं। सरकारले संविधान दिवसको अवसर पारेर घोषणा गरेको पदक विवादरहित बन्न सकेन।राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः कुनै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयोे, कार्यकर्ता बढाउन र फकाउनका लागि यसको दुरुपयोग भयो भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ। संविधान दिवसको अवसर पारेर घोषणा गरिएको पदक पाउनेहरूको सूचीमा ख्यातिप्राप्त व्यक्तिको नाम नै नभएको चाहिँ होइन, मदनमणि दीक्षितजस्ता साहित्यकार र पत्रकारलाई पनि सरकारले नसम्झेको चाहिँ होइन।

तर, ९५ प्रतिशत पदक कार्यकर्ता बढाउन र आफ्नो दलप्रति आकर्षित गर्ने प्रयोजनले व्यक्तिको चयन गरिएको छ। पूर्वमुख्यसचिव विमल कोइरालाले राज्यले वितरण गर्ने पदक पद्धतिमा सुधार आउन नसकेका कारण यसमा विवाद सिर्जना भएको टिप्पणी गर्नुभएको छ। ‘पदक वितरणमा हिजो जे थियो आज पनि त्यही नै परम्परा छ। यसमा कसैले सुधार गरेन’, पूर्वमुख्यसचिव कोइरालाले भन्नुभयो– ‘पदक कसले किन पाउँछ, पाउनेलाई त थाहा नहुने देशमा पदक वितरण प्रणालीमा सुधार खोज्नु मूर्खताबाहेक अरू केही होइन। यसपटक राज्यले ६ सय ३४ जना विभिन्न क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिलाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। यसपटक मानपदवी पाउनेमा ४ सय ५०, अलंकार पाउनेमा १ सय ५६ र पदक पाउनेमा २८ जना रहेका छन्।