अमेरिकाले सार्वजनीक गर्यो साउदी तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको हो भन्ने प्रमाणहरु

77

बीबीसी, भदौ ३०,
काठमाडौं । अमेरिकाले साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका आक्रमणमा इरान संलग्न भएको आफ्नो गुप्तचर निकायको भनाइ उद्धृत गर्दै प्रमाणस्वरूप भूउपग्रहबाट खिचिएका तस्बिर सार्वजनिक गरेको छ।

तर इरानले शनिवार साउदी अरबमा भएका हवाई आक्रमणमा आफ्नो संलग्नता भएको आरोप खण्डन गर्दै आएको छ। यमनमा सक्रिय विद्रोही हूथी समूहले आफूले ती आक्रमणहरू गरेको दाबी गरेको छ। हूथीहरूलाई इरानको समर्थन छ।

तर अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय समाचारसंस्थासँग कुरा गर्दै नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीहरूले जुन दिशाबाट र जुन क्षमतामा आक्रमणहरू भए त्यसबाट हूथीहरू संलग्न भएको पत्याउन नसकिने आशय व्यक्त गरेका छन्। आक्रमणपछि साउदी अरबले तेल तथा ग्यास उत्पादनमा कटौती गरेको छ। फलस्वरूप तेलको आपूर्ति पाँच प्रतिशतले घटेको छ भने तेलको मूल्य बढेको छ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले साउदी अरबमा भएको घटना इरानले गराएको आरोप लगाएका छन्। तर तेहरानले उक्त आरोपको खण्डन गर्दै त्यसलाई अमेरिकाको “जालझेल” भनेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोझै इरानलाई दोषारोपण गरेका त छैनन् तर आइतवार ट्वीट गर्दै उनले दोषीमाथि सम्भावित सैन्य कारबाही गर्ने सङ्केत दिएका छन्।

न्यूयोर्क टाइम्स, एबीसी तथा रोएटर्सले नाम उल्लेख नगरीकन अमेरिकी अधिकारीलाई उद्धृत गरेका छन्। एक अधिकारीले यमनबाट नभएर पश्चिम तथा पश्चिमोत्तर दिशाबाट आक्रमण भएको बताएका छन्। तर यमन साउदी अरबको दक्षिणमा अवस्थित छ।

त्यसैले उत्तरी खाडी, इरान वा इराकतिरबाट आक्रमण भएको हुन सक्ने उनीहरूको भनाइ छ। न्यूयोर्क टाइम्सका अनुसार आक्रमणमा ड्रोन र क्रूज क्षेप्यास्त्र प्रयोग भएको हुन सक्ने अमेरकी अधिकारीहरूले बताएका छन्। तर ती सबै अब्काइकस्थित प्रशोधन केन्द्र र खुरैसस्थित तेल खानीसम्म पुगेनन्। एबीसीले नाम उल्लेख नगरिएका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा इरान संलग्न भएकोबारे ट्रम्पलाई थाहा भएको जनाएको छ।