‘संसदीय समितिले अफ्ठेरो पार्न खोजेको प्रधानमन्त्रीको गुनासो’

64

भदौ ३०,
काठमाडौं । संसदीय समितिहरूले सरकारलाई अफ्ठेरो पार्न लागेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग गुनासो गरेको सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई बताएका छन्। समितिहरूले सरकारको निगरानी भन्दा पनि नियन्त्रण गर्न खोजेपछि प्रधानमन्त्रीले गुनासो राखेको सभामुखको भनाइ थियो। ‘सरकार र समिति बीचमा अलि असमझदारी बढेको जस्तो छ। प्रधानमन्त्रीले सरकारलाई संसदीय समितिहरूले अफ्ठेरो पार्न थाले भन्नुभएको छ’, सभामुख महराले भने, ‘संसदीय समितिले सरकारलाई निगरानी गर्ने हो, नियन्त्रण होइन।’ सरकारले आफ्नो बाटो बिराएमा नियन्त्रण गर्ने काम संसदको भएको उनको भनाइ थियो। सरकारलाई सुझाव दिनुपर्ने तर नियन्त्रण भने गर्न नहुने उनको भनाइ थियो।

सभामुख महराले संसदप्रति मन्त्रीहरूलाई जिम्मेवार बनाउनुपर्ने पनि बताए। प्रधानमन्त्रीको स्वास्थ्यका कारण संसदमा सधैँ जवाफ दिन सम्भव नभएपनि मन्त्रीहरूले भने संसदप्रति जवाफदेही हुनुपर्नेबारे प्रधानमन्त्रीसँग पनि छलफल भएको सभामुख महराले बताए। पछिल्लो समय मन्त्रीहरूको संसदप्रतिको जवाफदेहीता बढ्दै गएको र आगामी दिन थप बढाउनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सांसदहरूको भूमिका प्रभावकारी बनाउनुपर्ने बताइन्। त्यसका लागि सांसदहरूले संविधान, कानुन र नियमावली अध्ययन गरेर प्रस्तुत हुनुपर्ने बताइन्। उनले जुनसुकै उमेरमा पनि अध्ययनलाई जारी राखेर सिक्नुपर्ने बताइन्।