चैत २१
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले देश संघीयतामा गएकोले तीनै तहले मिलेर काम गर्ने हो भने विकास हुने बताएका छन्। समृद्धिसँग न्याय मिसाउने हो भने मात्रै समाजवाद आउने बताएका प्रधानमन्त्री ओलीले नीतिहरू केन्द्रबाट बन्ने र प्रदेश तथा स्थानीय तहमा पठाउने बताए।
राष्ट्रिय विकास परिषद् बैठकको बिहिबार समापन गर्दै प्रधानमन्त्री ओलीले संघीयताको खुट्टा बलियो बनाएपछि विकास हुने जिकिर गरे। ‘अरिगाँठेजस्तो हाम्रा ७६१ खुट्टा छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा केन्द्र, सात वटा प्रदेश र ७५३ स्थानीय सरकारका खुट्टा मिले भने विकास हुन्छ।’
आफ्नो नेतृत्वको सरकारले धेरै कुरा बुझेर विकास सुरू गरेको उनले बताए। ‘यी सबै खुट्टा नचलिकन त देश चल्दैन। यति धेरै खुट्टा हालिसक्यौं अब शरीरमा गतिमा चल्नैपर्छ। अनि लक्ष्य प्राप्त गर्न सक्छौं,’ उनले भने, ‘खुट्टा कमजोर बनाएर गन्तव्यमा पुग्न सकिन्न।’ यसअघि १४ वटा पञ्चवर्षीय योजना र सरकारहरू बने पनि विकासले गति नलिएको उल्लेख गरेका प्रधानमन्त्री ओलीले देशमा संघीय सरकार भएकोले १५ औं योजना सफल हुने दाबी गरे।
देश संघीयतामा गए पनि व्यवहार केन्द्रिकृत भएको भन्नेलाई प्रधानमन्त्रीले भने, ‘गाउँपालिकाले नीति बनाउँदैन। केन्द्रले नीति बनाउने र सबैतिर छरिएर जाने हो। अनि केन्द्रिकृत भयो भन्ने?’ संघीयता र तीनै सरकार नयाँ भएकोले अभ्यस्त हुन केही समय लागेको उनले बताए। प्रधानमन्त्रीले संघीयता र तीनै सरकारलाई नयाँ गाडीसँग तुलना गर्दै भने, ‘नयाँ गाडी किनेपछि लामो बाटो गुडाइँदैन। फिटिङ भइसकेको छैन भनेर त्यस्तै हो हामी पनि अभ्यस्त हुँदै जान्छौं।’
पेट्रोलियम पदार्थ उत्खनन् गर्ने कार्यमा सरकार लाग्ने पनि उनले बताए। गरिबी हटाउने हतार सरकारलाई भएको प्रधानमन्त्रीको भनाइ छ।
चल्नै नसक्ने उद्योग चलाउनु आवश्यक नहुने उनले बताए। ‘थारो भइसकेका गाईलाई दानापानी खुवाइराख्नुपर्छ। यी उद्योग त्यस्तै हुन्,’ उनले भने, ‘उत्पादन दिँदैनन्।’ Setopati