साउन १६,
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा आज निर्णय गर्दैछ। संवैधानिक परिषदले जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि गत विहिबार उनको संसदीय सुनुवाई भएको थियो। संसदीय सुनुवाई पछि उनको अनुमोदनका विषयमा निर्णय आउन सकिरहेको छैन। सुनुवाईपछि संसदीय समितिको बैठक पटक–पटक बसे पनि अहिलेसम्म उनको अनुमोदनका विषयमा निर्णय आउन सकेको छैन। संसदीय सुनुवाई विशेष समितिको बैठक बुधबार दिउँसो साढे तीन बजे बस्दैछ। समितिमा रहेका नेकपाका सांसदहरुले जोशीको नाम अनुमोदन नगर्ने सन्देश दिइसकेका छन्। तर अनुमोदन हुने नहुने भन्ने बारेमा औपचारीक धारणा भने सार्वजनिक गरिएको छैन। शैक्षिक प्रमाणपत्र, विवादास्पद फैसलाहरू, कार्यक्षमताको अभाव लगायतका विषय उठेपछि जोशीको अनुमोदन विवादास्पद बनेको हो। संसदीय सनुवाईका कम्तिमा ६ जना सांसदले जोशीको अनुमोदनका पक्षमा मत जाहेर गरेमा जोशी सर्वोच्च अदालतका प्रधानन्यायाधीश बन्ने छन्। समितिमा १५ जना सांसद छन्। जसमा नेकपाबाट ९ जना, कांग्रेसका ४ जना र फोरम–राजपाका १–१ जना सांसद छन्। नेकपा बाहेक सत्तापक्ष फोरमले पनि जोशीको विपक्षमा मत जाहेर गरेमा जोशीको अनुमोदन रोकिने छ। सुनुवाई पछिका दिनमा नेकपाका नेताहरूले पार्टी नेतृत्व, निकट कानुन व्यवसायी लगायतसँग परामर्श गरिसकेका छन्। यसअघि नै जोशीलाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न अनुरोध गरिएकोले नेकपा अनुमोदनका विपक्षमा रहेको देखिन्छ। नेकपाले कारण खुलाएर जोशीको अनुमोदन रोक्ने तयारी गरेको नेताहरुले बताएका छन्। कांग्रेसले उप समिति बनाएर छानबिन गर्नुपर्ने माग गर्ने बुझिएको छ। संसदीइ सुनुवाई समितिलाई जोशी बारेको निर्णय चाडो गर्न दबाब परिरहेको छ।