मन्त्रालयको मनोमानी सहसचिव बरन्डामा उपसचिवलाई मस्ती

155

नेपाल समाचारपत्र
भदौं ३०, काठमाडौं । शिक्षा मन्त्रालयका सिनियर सहसचिवलाई कामविहीन बनाउँदै उपसचिवलाई जिम्मेवारी तोकिएको छ। शिक्षा मन्त्रालयले सहसचिव प्रमुख रहने पाँच स्थानमा उपसचिवलाई जिम्मेवारी दिँदा सहसचिवहरू केबल मन्त्रालयको बरन्डा घुमेर फर्किने गरेका छन्। मन्त्रालयमा कामविहीन सहसचिवलाई व्यवस्थापन गर्ने विषयमा मन्त्रीले चासो लिनुभएको छैन। अहिले मन्त्रालयको बरन्डामा हाजिर गर्ने सहसचिवलाई भन्दा विभिन्न निकायमा प्रमुख पदमा काम गर्ने उपसचिवलाई मस्ती छ।

मन्त्रालयका अनुसार शिक्षाका सहसचिवको दरबन्दी रहेको भाषा आयोगको सचिवमा उपसचिव लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा उपसचिव चन्द्रकान्त भुसाल, शिक्षक किताबखानाको महानिर्देशकमा दिनेश श्रेष्ठ, राष्ट्रिय युवा परिषद्को सदस्य सचिवमा डा। बाबुराम ढुंगाना र शिक्षाका लागि खाद्य कार्यक्रमको निर्देशकमा उपसचिव डा। भोजराज काफ्लेलाई जिम्मा दिइएको छ।

‘यस्ता कार्यालयमा सहसचिवलाई जिम्मा दिनुपर्नेमा मन्त्रीको सचिवालयले उपसचिवलाई मुख्य जिम्मेवारी दिइरहेको छ।’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। हाल १५ मध्ये सहसचिवद्वय कमल पोखरेल र विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा कुनै जिम्मेवारी दिइएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले दरबन्दीअनुसार सहसचिव र उपसचिवलाई व्यवस्थापन गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो।