Monday, September 21, 2026
Home पत्रपत्रिका कीटमा अस्पतालको ठगी धन्दा, परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

कीटमा अस्पतालको ठगी धन्दा, परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

115

राजधानी दैनिक
भदौं २९, काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग गर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् । मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ ।

हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । महाशाखाका निर्देशक डा। लालले कुन व्यक्तिमा कुन प्रकारको भाइरस हो भनेर कीटले थाहा नहुने भन्दै डायग्नोसिसका लागि कीट आवश्यक नपर्ने बताए ।उनले भने, ‘ह्वाइट ब्लड सेल काउन्ट र टोटल प्लेटलेट काउन्टकै आधारमा डेंगुको पहिचान गर्न सकिन्छ । यस्तै, लक्षणका आधारमा व्यक्तिको उपचार प्रक्रिया अगाडि बढ्छ ।’

५६ जिल्लाका ५१ सय संक्रमित

ह्वाइट ब्लड सेल काउन्ट, टोटल प्लेटलेट काउन्ट र हेमाटोक्रिट जाँच गरियो भने डेंगु भएको हो या होइन जानकारी हुन्छ । यस्तै, जाँचसँगै लक्षणलाई आधार मानेर डेंगु पत्ता लगाउन सकिने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार रगत परीक्षणका क्रममा ह्वाइट ब्लड काउन्ट ४ हजारभन्दा कम र प्लेटलेट काउन्ट १ लाख वा सोभन्दा कम देखिन सक्छ ।
सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा। अनुप बाँस्तोलाले डेंगु परीक्षणका लागि कीट आवश्यक नपर्ने बताए । कीटमा चरम राजनीति भएको भन्दै उनले भने, ‘प्रकोपका रूपमा डेंगु फैलिएको छ । त्यसकारण, कीट जरुरत छैन । डब्लूबीसी काउन्ट, प्लेटलेट काउन्ट, हेमाटोक्रिट परीक्षण गर्ने र लक्षणका आधारमा डेंगु भएको हो या होइन, पहिचान हुन्छ ।’