कीटमा अस्पतालको ठगी धन्दा, परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

102

राजधानी दैनिक
भदौं २९, काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग गर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् । मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ ।

हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । महाशाखाका निर्देशक डा। लालले कुन व्यक्तिमा कुन प्रकारको भाइरस हो भनेर कीटले थाहा नहुने भन्दै डायग्नोसिसका लागि कीट आवश्यक नपर्ने बताए ।उनले भने, ‘ह्वाइट ब्लड सेल काउन्ट र टोटल प्लेटलेट काउन्टकै आधारमा डेंगुको पहिचान गर्न सकिन्छ । यस्तै, लक्षणका आधारमा व्यक्तिको उपचार प्रक्रिया अगाडि बढ्छ ।’

५६ जिल्लाका ५१ सय संक्रमित

ह्वाइट ब्लड सेल काउन्ट, टोटल प्लेटलेट काउन्ट र हेमाटोक्रिट जाँच गरियो भने डेंगु भएको हो या होइन जानकारी हुन्छ । यस्तै, जाँचसँगै लक्षणलाई आधार मानेर डेंगु पत्ता लगाउन सकिने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार रगत परीक्षणका क्रममा ह्वाइट ब्लड काउन्ट ४ हजारभन्दा कम र प्लेटलेट काउन्ट १ लाख वा सोभन्दा कम देखिन सक्छ ।
सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा। अनुप बाँस्तोलाले डेंगु परीक्षणका लागि कीट आवश्यक नपर्ने बताए । कीटमा चरम राजनीति भएको भन्दै उनले भने, ‘प्रकोपका रूपमा डेंगु फैलिएको छ । त्यसकारण, कीट जरुरत छैन । डब्लूबीसी काउन्ट, प्लेटलेट काउन्ट, हेमाटोक्रिट परीक्षण गर्ने र लक्षणका आधारमा डेंगु भएको हो या होइन, पहिचान हुन्छ ।’