केरुङ–रक्सौल रेल ओझेलमा

99

कान्तिपुर दैनिक
भदौं २९, काठमाडौँ — काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भए पनि दुवै रेलको अहिलेसम्म विस्तृत सम्भाव्यता अध्ययन ९डीपीआर० हुन सकेको छैन । यसै साता आएका चिनियाँ विदेशमन्त्री वाङसँग काठमाडौं–केरुङ रेलबारे छलफल हुने अपेक्षा गरिएको थियो । तर त्यसबारे छलफल भएरनभएको सार्वजनिक गरिएको छैन । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भने काठमाडौं–रक्सौल रेलबारे कुरा उठेको थियो । यसबारे छलफल राम्रै भएको रेल विभागका महानिर्देशक बलराम मिश्र बताउँछन् । उनका अनुसार काठमाडौं–रक्सौल रेल विस्तार गर्नेबारे सहमतिसमेत भएको थियो ।

‘चिनियाँ विदेशमन्त्री आउँदा परराष्ट्रमन्त्रीले रेलबारे सामान्य कुरा भयो भन्ने कुरा समाचार पढेर थाहा पाएँ,’ महानिर्देशक मिश्रले भने, ‘तर, हाम्रो मन्त्रालयदेखि विभाग सम्मलाई कुनै बैठकमा बोलाइएन, त्यही भएर केरुङ जोड्ने रेलबारे छलफल भएको कुरा थाहा पाउन सकिएन ।’ उनले अहिले छलफलको विषय नबने पनि उच्च तहबाटै यसबारे छलफल हुने दाबी गरे । काठमाडौं–केरुङ रेलको डीपीआर गर्नेबारे छलफल हुने अपेक्षा विभागको थियो ।

‘डीपीआर गर्ने अहिले कुरै भएन,’ महानिर्देशक मिश्रले भने, ‘उच्च राजनितिक तहबाटै यसबारे निर्णय होला, अक्टुबरमा चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल आउने कुरा छ, त्यही बेला केही होला भन्ने अपेक्षा गरेका छौं ।’ यता काठमाडौं–रक्सौल रेलको भने डीपीआर गर्न भारत तयार भएको छ । ‘नेपाल सरकारले अनुरोध गरे डीपीआर अघि बढाउन भारत तयार रहेको जानकारी पाएका छौं,’ उनले भने, ‘डीपीआर तयार गर्ने सबै काम भारतले गर्नेछ ।’ यसको प्रारम्भिक अध्ययन भइसकेको छ ।

यसको अध्ययन भारतको कोन्कोर रेलवेज कर्पोरेसन लिमिटेडले गरेको थियो । कोन्कोरले सेप्टेम्बर ४ मा प्रारम्भिक अध्ययन सकेर प्रस्तुतीकरणसमेत गरिसकेको छ । ‘डीपीआर गर्ने आशय भारतले देखाएको छ,’ उनले भने, ‘भारत सरकारलाई नेपाल सरकारले अनुरोध यो काम चाँडै सुरु हुने थियो ।’ काठमाडौं–रक्सौल रेल गुडे मुलुकमा आर्थिक क्रान्ति हुने उनले दाबी गरे । रेल सञ्चालनमा आएपछि यात्राको दूरी छोटिनेछ ।