पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक, अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ

213

भदौ २४,
काठमाडौं । नेपाली सेनाले पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा नेपाली सेनाले उनको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन । तर संगठनमा सुधार अभियान थालेका थापाले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्न लगाएका हुन् ।

थापाको काठमाडौं महानगरपालिका २६ मा घर छ भने काठमाडौं, नवलपरासी र लमजुङमा केही पैत्रिक र केही आफूले किनेको जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार रहेको थापाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । आफ्नो र श्रीमतीको नाममा बैंक ब्यालेन्स, विभिन्न कम्पनीको सेयर र वित्तीय संंस्थाको ऋण पनि थापाले सम्पत्ति विवरणमा खुलाएका छन् ।

अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ
प्रधानसेनापतिले भने ‘सम्पति विवरण सार्वजनिक गरेको छु। आजै हाम्रो वेबसाइटमा हेर्न सकिन्छ। अन्य सैनिक सबैले सार्वजनिक गर्न सक्नुहुनेछ’, ,‘सम्पत्ति विवरण गोप्य राखिनेछ कसैले चाहनुहुन्छ भने सम्पत्ति सार्वजनिक गर्न सक्नुहुनेछ। राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएकाले सेनाभित्रको आर्थिक गतिविधि छानबिन नगरिएको हो। यसलाई दुरूपयोग नगरौं।’ सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता हुन्छ भन्ने आरोप लागेकोले अब त्यसबारेमा पनि छानबिन हुने उनले बताए।

‘सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता छ भन्ने आरोप छ म यसलाई सुधार गर्छु’, उनले भने, ‘सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ।’ गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्न नहुने उनको भनाइ छ। ‘गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्नु हुँदैन। राम्रा संस्कारलाई जोगाउन ढिला नगरौं। जो भए पनि उस्तै हो भन्ने भावना भत्काउन खोज्दैछु। मैले सुधारको काम नथालेको भए धेरै ढिला हुन्थ्यो भनेर सेनाभित्र र बाहिर बहस सुरू भएको छ।’ नेपाली सेनामा गरिएको सर्वेक्षणबाट आफूले गरेको काम ७० प्रतिशत भन्दा बढी सफल भएको उनले बताए।