शक्तिका आडमा अपराध, ठगीबाटै कैयौंको उठीबास

61

नागरिक दैनिक
भदौं २२, धनगढी । ऋषि पञ्चमीका दिन नाचगान गरेर साँझ घर फर्कंदै गर्दा धनगढी उपमहानगरपालिका–५ तारानगरकी पार्वती भण्डारी सत्कार चोक पुग्दा लुटिइन्। मोटरसाइकलमा आएका दुईजनाले उनको हातको झोला खोसेर लगे। मानिसको चहलपहलकै बीच अप्रत्यासित रूपमा सो घटना भएको थियो। उनले सहयोगका लागि अरूलाई गुहार्न खोज्दाखोज्दै लुटेर भागिसकेका थिए। लगत्तै उनले प्रहरीलाई घटनाबारे जानकारी गराइन्। तर अहिलेसम्म लुटेर फेला पर्न सकेका छैनन्। गत जेठ १३ गते बसपार्कस्थित श्रीपाल होटलमा तारानगरका आदर्श भट्ट मृत भेटिए। होटलको १०५ नम्बर कोठामा बाहिरबाट चुकुल लगाएको अवस्थामा उनी भित्रपट्टि मृत भेटिनुले घटना रहस्यमय बनेको छ। अत्यधिक लागूऔषध सेवन गरेकाले भट्टको मृत्यु भएको भन्दै प्रहरीले मिडियाबाजी गरे पनि भिसेरा रिपोर्टमा लागू औषध र विष सेवनको केही अंश नदेखिएपछि पीडित परिवारले होटलको कोठामै आदर्शको हत्या भएको बताउँदै आएका छन्। ‘लागूऔषधको मात्रा अत्यधिक लिएका कारण आदर्शको मृत्यु भएको भनी प्रहरीले हचुवाका भरमा बोलेका छन्, भिसेरा रिपोर्टले त्यसो भन्दैन,’ बुबा शम्भुप्रसाद भट्टले भने। आदर्शको पोस्टमार्टमपछि ल्याब परीक्षण रिपोर्टले लागूऔषध प्रयोग नगरेको देखिएकाले छोराको हत्या नै भएको बुबा शम्भुको दाबी छ।