त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

121
सांकेतिक तस्विर

भदौ २०,
काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौंमा १ जनाको मृत्यु भएको छ । त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको सेनाको बा १ ग ३४५६ नम्बरको ट्रकले बा ६८ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । सेनाको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइक चालकको काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार मृत्यु हुनेमा अर्घाखाँची स्थायी घर भएका ३५ वर्षीय लेख मगर छन् ।

त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको ट्रकले सोही दिशातर्फ गइरहेको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको हो । प्रहरीका अनुसार सुन्धारास्थित खानेपानी संस्थानको कार्यालय नजिकै उक्त दुर्घटना भएको हो । मोटरसाइकललाई ठक्कर दिने सेनाको ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले जानकारी दिए ।