अमेरिकाको मिजुरीमा सवारी दुर्घटनामा परि ३ नेपालीको मृत्यु

108

एजेन्सी, भदौ १९,
काठमाडौं । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक रहेको स्थानीय जोप्लिन प्रहरीले जानकारी गराएको छ । घटना त्यहाँको स्थानिय समय अनुसार २ः५५ बजे घटेको हो।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो । दुर्घटना हुँदा श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेको स्थानिय जोप्लिन प्रहरीले जनाएको छ। गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ।