कन्टेनर चालकमाथि सडकमै प्रहरीको लात्ती र मुक्का (भिडियोसहित)

346

भदौ १८,
काठमाडौं । नेपाल प्रहरीका जवानले रसुवामा कन्टेनर चालकमाथि निर्घात कुटपिट गरेका छन्। गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवका एक प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारले चालकको कपालमा समातेर लात्ती-मुक्का बर्साएका हुन्। चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जाल फेसबुकमामा हालेपछि भाइरल भएको छ। यो घटना सार्वजनिक भएपछि रसुवाका प्रहरी प्रमुख भाग्यन्द्रपुरुष ढकालले टिमुरे क्षेत्रबाट दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको छ ।

उक्त भिडियो वास्तविक भए-नभएको अनुसन्धान भइरहेको ढकालले बताए। उक्त घटनामा देखिएको ब्यवहार प्रहरीले कसरी गरे भन्ने अनुसन्धानपछि थाहा हुने बताउँदै ढकालले दोषीमाथि हदैसम्मको कारबाही हुने जानकारी दिए। कुटपिटको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको रसुवाका प्रमुख जिल्ला अधिकारी सन्तोष भण्डारीले जानकारी दिए। उनले घटनाको भिडियो बाहिरिएपछि दोषीमाथि कारबाही तथा प्रहरीको आचरण सुधार्न पनि निर्देशन दिइएको प्रजिअ भण्डारीले बताए । उक्त घटनाको यातायात क्षेत्रका मजदुरहरूले चर्को विरोध गरिरहेका छन्। भिडियो सार्वजनिक भएपछि प्रहरीको ब्यवहारको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।