राजधानी दैनिक
भदौं १७, काठमाडौं । निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । उपनिर्वाचनका लागि तयारी तीव्र बनाएको आयोगले दलको सहभागिताका लागि दर्ता आह्वान गरेको हो । आयोगले विभिन्न ५१ पदमा हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि भदौ मसान्तसम्म दल दर्ताका लागि समय दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचनमा भाग लिन चाहने दलहरूले भदौ मसान्तसम्म आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गराउनुपर्ने बताए । २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमा भाग लिएका तर नाम फेरबदल नगरेका दलले भने उपनिर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुनपर्ने उनले जानकारी दिए । ‘उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न भदौ मसान्तसम्म समय तोकिएको छ । २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमा भाग लिएका तर नाम फेरबदल नगरेका दलले भने उपनिर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्दैन,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।
आयोगको तथ्यांकअनुसार हाल निर्वाचन आयोगमा १ सय ३२ दल दर्ता छन् । त्यसमध्ये गत निर्वाचनमा चार दल राष्ट्रिय दलका रूपमा छन् भने प्रदेश स्तरमा ११ दलको प्रतिनिधित्व छ । यसैगरी, स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा दल छन् ।
यसमध्ये नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०ले भने उपनिर्वाचन प्रयोजनका लागि आयोगमा पुनः दल दर्ता गर्नुपर्दैन । तर, उनीहरूले लेखापरीक्षण प्रतिवेदन भने बुझाउनु पर्नेछ ।
आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार २०७४ सालको निर्वाचनपछि एकीकरण भई नयाँ नाम कायम भएका र नयाँ दर्ता भएका दलले भने उपनिर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा दल दर्ता गराउनु पर्नेछ । दल दर्ताका लागि राजनीतिक दलले पार्टीको नाम, आयोगमा दर्ता भएको मिति, दलको पछिल्लो महाधिवेशन भएको मिति र स्थान तथा केन्द्रीय कार्यालय रहेको ठेगाना खुलाएर निवेदन दिनुपर्नेछ ।