Saturday, October 3, 2026
Home पत्रपत्रिका इतिहासमै पहिलोपटक मन्त्रीले गरे प्रधामन्त्रीसँग कार्यसम्पादन सम्झौता

इतिहासमै पहिलोपटक मन्त्रीले गरे प्रधामन्त्रीसँग कार्यसम्पादन सम्झौता

102

राजधानी दैनिक
साउन १६,
काठमाडौं। मुलुकको इतिहासमै पहिलोपटक २० मन्त्रालयका विभागीय मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्यसम्पादन सम्झौता (करार) गरेका छन । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री समक्ष सबै मन्त्रीले सामूहिक रूपमा कार्यसम्पादन सम्झौता गरेका हुन् । हालसम्म प्रशासन क्षेत्रमा मात्रै अभ्यास हुँदै आएको कार्यसम्पादन सम्झौतालाई प्रधानमन्त्री ओलीले पहिलोपटक राजनीतिक तहमा लागू गरेका छन् । यसअघि सचिव, सहसचिव, महानिर्देशक र कार्यालय प्रमुखले मातहतका निकायसँग मात्रै कार्यसम्पादन सम्झौता गर्दै आएका थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री नभएकाले सो मन्त्रालय सँग भने कार्यसम्पादन सम्झौता गर्न बाँकी छ । मन्त्रालयमा नयाँ मन्त्रीका रूपमा बुधबार मात्रै नेकपाका युवा नेता योगेश भट्टराई नियुक्त भएका छन् । भट्टराई मन्त्री भएसँगै उनीसँग पनि केही दिनभित्रै कार्यसम्पादन सम्झौता गरिने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

मन्त्रीहरूले आर्थिक वर्ष २०७६/७७ को सुरुवातमै सरकारको वार्षिक नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यविभाजन नियमावलीले मन्त्रालयलाई तोकेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीसमक्ष कार्यसम्पादन सम्झौता गरेका हुन् । त्यस अवसरमा सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयको नयाँ वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यसम्पादनको आधारमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको मूल्यांकन गर्नेछन् । यसका लागि चार–चार महिनामा मन्त्रीको मूल्यांकन गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उच्चस्तरीय संयन्त्र स्थापना गरिनेछ ।