जापानको साताको एक उडान स्थगित गर्ने योजनामा नेपाल एयरलाइन्स

379
Photo Credit : तस्वीर सौजन्य : चन्द्र रिजाल

भदौ १५,
काठमाडौं । काठमाडौं–ओशाका उडान सुरु गरेको निगमले तत्कालका लागि बिहीबारको उडान स्थगित गर्ने योजना बनाएको छ । निगमले जापानका लागि साताको तीन उडने गरि मंगलबार, बिहीबार र शनिबारको उडान राखेको छ । स्रोतका अनुसार निगमले काठमाडौंबाट जापान जाने यात्रु कम भएपछि साताको दुई उडान पर्याप्त हुने देखिएको भन्दै एक उडान स्थगित गर्ने योजना रहेको छ ।

दशैंको सिजन भएकाले जापानबाट नेपाल आउने यात्रु सन्तोषजनक रहेपछि काठमाडौंबाट जापान जाने यात्रु कम छन् । त्यस कारण रित्तै जहाज उडानुभन्दा यात्रु बढ्दा साथ उडान थप्ने गरी सातामा दुई उडान मात्र गर्ने तयारी छ । यसको फाइनल सेड्यूल भने आइसकेको छैन । एयरलाइन्स बिजनेशमा यात्रु घट्दा र बढ्दा गरिने उडान थप र कटौतीको नियम अनुसार जापान उडान नियमित हुने उनले बताए । उनका अनुसार दशैं र त्यसपछि पनि अग्रिम बुकिङ राम्रो छ । तर, दशैं अगाडि बुकिङ ट्रेण्ड एकतर्फी छ । दशैंपछि काठमाडौंबाट जापान जाने यात्रु बढ्ने अपेक्षा छ ।

त्यसपछि पर्यटकीय मौसम सुरु हुने भएकाले यात्रु अभाव नहुने निगमले अपेक्षा गरेको छ । निगमले १२ वर्षपछि गत १२ भदौदेखि जापान उडान थालेको थियो ।