नेकपामा प्रचण्डले जारी गरे अन्तरपार्टी निर्देशन

76
पुष्पकमल दाहाल

भदौ १३,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले पार्टी एकतापछि दोस्रो पटक अन्तरपार्टी निर्देशन जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार अन्तरपार्टी निर्देशन जारी गरेका हुन् । यसअघि पार्टी एकता भएको केही दिन अर्थात् २०७५ साल जेठ १६ गते अन्तरपार्टी निर्देशन जारी भएको थियो ।

केपी ओलीको अध्यक्षतामा र प्रचण्डको अध्यक्षतामा बसेको यसअघि बसेका दुई सचिवालय बैठकका निर्णयहरुका आधारमा यस्तो निर्देशन जारी भएको छ ।
शुक्रवार निर्देशन जारी गर्दै प्रचण्डले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने उल्लेख गरेका छन् । उनले अब पार्टीले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएका छन् ।

प्रचण्डले जारी गरेको निर्देशनमा भनिएको छ,‘पार्टीले समस्त नेता कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्न र आम रुपमा सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानमा जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’

दुई पार्टी बीचको एकतालाई तीन महिनामा पूरा गर्ने भनिएको भएपनि राष्ट्रिय राजनीतिका कारण तोकिएको समयमा नभएको प्रचण्डको भनाइ छ । तर सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको र अन्तिम चरणमा पुगेको उनको भनाइ छ । प्रचण्डले एकीकरणको बाँकी कामहरु छिट्टै सम्पन्न गर्ने जनाएका छन् । अन्तरपार्टी निर्देशनमा अध्यक्ष र महासचिवको जिम्मेवारी निर्देशन गरिएको छ भने वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्था गरिएको बारे जानकारी गराइएको छ ।