जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिन आनाकानी गर्नेलाई पाप लाग्छ : पर्यटनमन्त्री

78

भाद्र १२,
भरतपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पाप र धर्मको ख्याल राखेर भए पनि आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको घोषणा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नवलपुरको हुप्सीकोटमा पर्यटन प्रवर्द्धन कार्यक्रममा सहभागी हुन आइपुगेका मन्त्री भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । यसैसाता पर्यटनमन्त्री भट्टराईले ७० वर्ष उमेर पुगेकाहरुलाई हवाई उडानमा ५० प्रतिशत छुटको घोषणा गरेका थिए ।

उनको घोषणा कार्यान्वयनमा आउनु अगावै निजी एयरलायन्स सञ्चालकहरुले विभिन्न टिप्पणी गरेको प्रसंग जोड्दै उनले भने ,‘उहाँहरु आफैले आएर यस्तो घोषणा गरेका छौं भन्नुहोला भन्ने आशा थियो आउनुभएन । तर सरकारले गरेको निर्णयमा पनि विभिन्न टिप्पणी आएका छन्, त्यसको म स्वागत नै गर्छु । उहाँहरुले पनि पाप र धर्मको ख्याल त राख्नुहोला नि ।’ भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्नको लागि सरोकारवाला निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ३ महिनाभित्र लागू गर्न निर्देशन दिएका थिए । मन्त्री भट्टराईले निर्णय कार्यान्वयन भइ छाड्ने उनले दाबी गरेका छन् ।