ब्रिटिस प्रधानमन्त्रीले गरे पाँच साता संसद निलम्बन

55

एजेन्सी, भदौ १२
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले झन्डै पाँच साताका लागि संसद (हाउस अफ कमन्स) निलम्बन गरेका छन्। बेलायती संसदीय परम्पराअनुसार महारानीले नयाँ अधिवेशन घोषणा गर्नुअघि केही दिनलाई संसदको कामकारबाही रोकिन्छ। सरकारले तयार पारेको सम्बोधन पढेर महारानीले सुनाएपछि नयाँ अधिवेशन सुरू हुन्छ। प्रधानमन्त्री जोन्सनले बुधबार महारानी एलिजाबेथ द्वितीयलाई अक्टोवर १४ मा संसदलाई सम्बोधन गर्न अनुरोध गरेका थिए।

महारानीले उनको अनुरोध स्वीकारेकी छन्। अब सेप्टेम्बर ९ पछि बेलायती संसद एकैचोटी अक्टोवर १४ मा बस्नेछ। सन् २०१७ मा सुरू भएको संसदको यो अधिवेशन सबैभन्दा लामोमध्ये भएकाले आफ्नो सरकारका नयाँ नीति र एजेन्डा प्रस्तुत गर्न महारानीले सम्बोधन गर्न लागेको जोन्सनले दाबी गरेका छन्।

प्रतिपक्षी लेबर पार्टीले भने सम्झौता बिना९नो डिल० युरोपियन युनियन छोड्ने निर्णयमा सांसदहरूले पर्याप्त छलफल गर्न नपाऊन् भनेर संसद निलम्बन गरिएको आरोप लगाएका छन्। जोन्सन अक्टोवर ३१ सम्म सम्झौता गरेर वा नगरेर जसरी पनि बेलायतलाई इयूबाट छुट्याउने वाचा गरेर प्रधानमन्त्री बनेका हुन्।