Sunday, September 27, 2026
Home राजनीति भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सुचना चुहावट हुने भन्दै संसदमा काँग्रेसको विरोध

भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सुचना चुहावट हुने भन्दै संसदमा काँग्रेसको विरोध

137

भदौ १०,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सुचना चुहावट हुने भन्दै संसदमा विरोध गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखले बैठक सुरु भएको जानकारी गराएलगत्तै नेपाली काँग्रेसका सांसदहरु यथास्थानमा उभिएर विरोध जनाएका हुन् । त्यसपछि सभामुखले नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडलाई बोल्नका लागि समय दिए ।

प्रमुख सचेतक खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा आपत्ति जनाए । उनले भने, ‘प्रधानामन्त्री काठमाडौंमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फ्रेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संशोधन गरिएको छ । यो विल्कुलै अनुचित छ । यसबाट सूचना चुहिने र गोपनियता पनि लिक भएर जाने गम्भीरता पनि रहन्छ ।’

प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरि कार्यवहाक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउँदै उनले भिडियो कन्फ्रेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटी नगर्न सरकारको ध्यानाकर्षण गराए । मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरिएको प्रति पनि काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरि मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरिएको भन्दै कार्यविधिमा भएको संशोधन अबिलम्ब संशोधन गरेर पूर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

खाडले व्याङ्यात्मक शैलिमा भने, ‘यदि सम्मानीय प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्समार्फत क्याबिनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने यदि भोली सभामुख हुनुभएन भने यो प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ सभामुख ज्यू ?’ हिजोमात्र नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत क्याबिनेटको बैठक सञ्चालन भएको थियो ।