Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय बंगलादेशमा शरणार्थी शिविरमा दुई लाख रोहिंग्याले निकाले र्‍याली

बंगलादेशमा शरणार्थी शिविरमा दुई लाख रोहिंग्याले निकाले र्‍याली

172

एजेन्सी, भदौ ८,
काठमाडौं । म्यानमारबाट विस्थापित भएका रोहिंग्या शरणार्थीहरूले बंगलादेशस्थित शिविरमा र्‍याली निकालेका छन्। म्यानमारमा आफ्ना आफन्तहरूविरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना र्‍यालीमा सहभागी भएका हुन्। सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिंग्या विस्थापित भएर बंगलादेशको शरणार्थी शिविरमा बस्दै आएका छन्। र्‍यालीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी भएका थिए। उनीहरूले रोहिंग्या जिन्दावाद भनेर नारा लगाएका थिए।

अहिले रहेको बंगलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ। म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरूका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरू विस्थापित भएको अधिकारीहरूले जनाएका छन्। विस्थापित भएका रोहिंग्याहरूलाई बंगलादेशमा शिविर बनाएर राखिएको छ। त्यहाँ उनीहरूलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिँड्न स्वतन्त्रता दिइएको छैन। शरणार्थीहरूलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै बंगलादेश र म्यान्मारबीच सम्झौता भएको थियो। तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीहरूले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन्। पछिल्लो पटक गत बिहीबार ३५ सय शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो। तर, शरणार्थीहरूले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास अर्थहीन भएको छ।