अन्तरिक्षमा पनि अपराध ! अनुसन्धान गर्दै नासा

156

एजेन्सी, भदौ ८,
काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले एक महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता अनधिकृत रूपमा चलाएको विषयमा अनुसन्धान सुरु गरेको छ । सो आरोप प्रमाणित भएमा अन्तरिक्षयात्री एन म्याकक्लेन अन्तरीक्षबाट अपराध गर्ने पहिलो व्यक्ति हुनेछिन् । म्याकक्लेनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट आफ्ना पूर्वपतिको बैंक खाता हेरेको स्वीकार गरेकी छन् । यद्यपि आफूले कुनै गलत काम नगरेको उनको भनाई छ ।

उनीसँग छुट्टिएका पति समर वोर्डेनले फेडेरल ट्रेड कमिशनमा आफ्नो बैंक खाता हेरेको विषयमा उजुरी हालेका छन् । म्याकक्लेन पृथ्वीमा फर्किसकेकी छन्।
परिवारको आर्थिक अवस्था हेरेर वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहे÷नरहेको विचार गर्न बैंक खाता रहेको बताएकी छन् । म्याकक्लेन र वायुसेनामा गुप्तचर रहेका वोर्डेनबीच सन् २०१४ मा विवाह भएको थियो । तर सन् २०१८ मा सम्बन्ध विच्छेद गर्न निवेदन दिएका थिए । अनुसन्धान गर्नका लागि नासाका अनुसन्धान अधिकारीहरूले दुवैलाई सम्पर्क गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

सेनाको विमानचालक रहेकी म्याकक्लेनलाई सन् २०१३ मा नासाले अन्तरिक्षयात्रीको रूपमा छानेको थियो। उनी अन्तरिक्ष केन्द्रमा ६ महिना बसेकी थिइन् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको स्वामित्व भएका अमेरिका, रुस, युरोप, जापान र क्यानाडा सहमत भएको व्यवस्थामा अन्तरिक्षयात्री र सामानमा राष्ट्रिय कानुन नै लागु हुन्छ। अर्थात जुन देशको अन्तरिक्षयात्रीले अपराध गरेको हो, त्यही देशको कानुन लागु हुन्छ। नासाका अधिकारीहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा कुनै अपराध भएको बारे जानकारी नभएको बताएका छन्।